नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित डा प्रकाशशरण महतले पराजयले थप ऊर्जा दिएको बताएका छन्। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महतले यस्तो बताएका हुन्। महामन्त्री पदको मतपरिणाम अनपेक्षित रहेको बताउँदै उनले भने, ‘यो पराजयले मलाई थप ऊर्जा दिनेछ। यसले मलाई समयको सुविधा दिएको छ। यसको उपयोग गर्नेछु।’
टिमका आधारमा मतदान भएको तर परिणाम त्यसअनुसार नआए पनि मतपरिणामलाई स्वीकार गर्नुपर्ने उनले बताए। उनले भने, ‘नतिजा अपेक्षाअनुसार आएन। त्यसलाई स्वीकार गर्नुपर्छ, गर्छु । म साथीहरूको जितमा खुसी हुन्छु। मेरै हैसियतअनुसार पार्टी र देशका लागि काम गरिरहन्छु । मैले स्ट्रङ मत प्राप्त गरेको छु, अनेक बाधा व्यवधानका बीच त्यो मत प्राप्त गरेको छु । आगामी दिनमा थप उर्जका साथ काम गर्छु ।’
आफूले सहयोग नपाउनुमा कसैलाई दोषारोपण नगर्ने भन्दै त्यसको समीक्षा हुने महतले बताए। ‘कसले गर्यो भन्न चाहन्नँ। मैले सहयोग पाइनँ। मेरै कमजोरी रह्यो होला। कसैलाई दोषारोपण गर्दिनँ,’ उनले भने, ‘महामन्त्रीमा मात्रै यस्तो नतिजा आएको छ। यसको समीक्षा हुनेछ ।’एकाध व्यक्तिको उपस्थिति हुँदैमा पार्टी समाप्त हुने र कोही व्यक्ति आउँदैमा रातारात पार्टी बन्छ भन्ने कुनै ग्यारेन्टी नहुने उनको भनाइ थियो।
मनोनयन भएर केन्द्रीय समितिमा बस्ने सम्भावना छ कि छैन भन्ने प्रश्नमा उनले भने, ‘मनोनयनमा पार्टी सभापतिको भूमिका हुन्छ। उहाँले आवश्यकता देखेमा ल्याउन सक्नुहुन्छ ।मूल्यांकनका आधारमा उहाँले गर्ने निर्णय हामीले स्वीकार गर्नुपर्छ।
केन्द्रीय समितिमा जम्मा १३४ पदका लागि भएको मतदानमा १०९ जना देउवा पक्षका उम्मेदवार विजयी हुँदा महामन्त्रीका उम्मेदवार महत र प्रदीप पौडेल दुवैजना भने पराजित भएका थिए।