माओवादी केन्द्र प्रदेश १ समिति अध्यक्षमा पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित भएका छन् । बुधबार राति सम्पन्न निर्वाचनको आज बिहान मतपरिणाम घोषणा भएकाे हाे । धरानका मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै नेम्वाङ १६९ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिस्पर्धी मेन्याङ्बोले ६४ मत मात्र प्राप्त गरे ।
आठजना उम्मेदवारले प्रतिस्पर्धा गरेको तीन उपाध्यक्षमा शिवकुमार डाँगी, मणिकुमार साम्पाङ र देवान चाम्लिङ निर्वाचित भए । दुईजनाले प्रतिस्पर्धा गरेको सचिव पदमा गणेश उप्रेती विजयी भए । १३ जनाले प्रतिस्पर्धा गरेको सहसचिव पदमा कुमारी राई, ऋषिराम ढुंगाना र सागर किराती विजयी भएका छन् । चारजनाले प्रतिस्पर्धा गरेको कोषाध्यक्ष पदमा रेवतीराज पुरी निर्वाचित भएका छन् ।
कार्यसमितिमा सर्वसम्मत चयन भएका एक सय ५९ जना सदस्य मतदातामध्ये जम्मा एक सय ४० जनाले मतदान गरेका थिए । १९ जना मतदान गर्न आएनन् । नौजना पदाधिकारीका लागि २९ जनाको उम्मेदवारी परेको थियो । माओवादी पार्टीको विधानअनुसार पहिले कार्यसमिति चयन गरिन्छ । त्यसपछि चयन भएको कार्यसमितिले पदाधिकारी निर्वाचित गर्दछ ।
मोरङको विराटचाेकमा २५ मंसिरमा माओवादी केन्द्र प्रदेश १ समितिको प्रथम अधिवेशन उद्घाटन भएको थियो। तर, २७ मंसिरमा अधिवेशनले पदाधिकरी चयन गर्न नसकेपछि दुई सय ५९ जना कार्यसमिति सदस्य मात्र चयन गरेको थियो।
त्यसपछि २९ मंसिरमा विराटनगरमा बसेको कार्यसमिति बैठकले पनि पदाधिकारी चयन गर्न नसकेपछि ७ पुसमा पदाधिकारी चयन गर्ने गरी कार्यदल गठन गरिएको थियो । नेता अजम्बर काङबाङको नेतृत्वमा गठित कार्यदलले पनि पदाधिकारी सिफारिस गर्न नसकेपछि ७ पुसमा बसेको कार्यसमिति बैठकले निर्वाचन प्रक्रियामा जाने निष्कर्ष गरेपछि निर्वाचन भएको हो ।