नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा पराजित डा. शेखर कोइरालाले महाधिवेशनमा पार्टीभित्रका यथास्थितिवादी र परिवर्तनकारीबीच प्रतिस्पर्धा भएको टिप्पणी गरेका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै उनले पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड आफूहरूविरुद्ध भए पनि राजनीति जित्न सफल भएको प्रतिक्रिया दिएका हुन्।
उनले पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने अभियानमा लड्नका लागि आफूसँग राजनीतिक सिद्धान्त र ऊर्जावान युवाहरूको समूह रहेको बताएका छन्। ‘हामी परिवर्तनकारी शक्ति थियौँ, हामीसँग निष्ठावान कार्यकर्ताहरूको भरोसा र विश्वास थियो। कांग्रेसको १४औँ महाधिवेशनबाट आउने परिणामको महत्व आफ्नो ठाउँमा छ, तर हामीले कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश सम्पूर्ण कांग्रेसजनमा मात्र होइन आमनेपालीको घरदैलोमा पुर्याएका छौँ,’ विज्ञप्तिमा उल्लेख छ।
कोइरालाले प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामनासमेत दिएका छन्। देउवाकै कार्यकालमा नेपाली कांग्रेसको गौरव पुनर्स्थापित हुनेछ भन्ने विश्वास लिएको बताउँदै उनले महाधिवेशनमा आफू पार्टी सभापतिमा पराजित भए पनि कांग्रेसप्रति आकर्षण, भरोसा र विश्वासको वृद्धि गराएको बताएका छन्।

