प्रदीप पौडेलको प्रतिबद्धता : निर्वाचित पदाधिकारीलाई साथ र सहयोग रहन्छ

बिहिबार, १ पुष, २०७८
डिजिटल संस्करण

कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित नेता प्रदीप पौडेलले निर्वाचनको परिणामलाई स्वीकार गरी निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचन परिणाम घोषणापछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीलाई सुदृढ र संगठित बनाई अघि बढाउने कुरामा सधैँ साथ र सहयोग रहने प्रतिबद्धता जनाए । निर्वाचन परिणामसँगै नेपाली कांग्रेसमा पुस्तान्तरण भएको भन्दै उनले वैचारिक रूपान्तरणका लागि विजयी पदाधिकारीहरूले नेतृत्व लिने विश्वास आफूले लिएको बताए । 

उनले भने, ‘म उहाँहरूलाई सहयोग गर्ने, पार्टीलाई सुदृढ बनाउने, संगठित बनाउने र अगाडि बढाउने कुरामा सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । कांगे्रसमा पुस्तान्तरण भएको छ । अब वैैचारिक रूपान्तरणका निम्ति साथीहरूले प्रयास गर्नुहुनेछ, नेतृत्व लिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । विधि व्यवस्थालाई कडाइका साथ लागू गरेर पार्टी चल्छ भन्ने मेरो विश्वास छ ।’

उनले निर्वाचन परिणामले पुरानो र नयाँ नेतृत्वहरुको सम्मिश्रण पार्टीभित्र सिर्जना गराएको देखिएको भन्दै निर्वाचनपछि पार्टीभित्र आमएकता निर्माण हुने परिस्थिति बन्ने विश्वास लिएको बताए ।

सुझावित समाचार