नेकपा माओवादी केन्द्रको प्रदेश १ समितिको पदाधिकारी छान्न सकस देखिएको छ । अध्यक्ष र पदाधिकारी चयन गर्न नसकेपछि बैठक ७ पुससम्मका लागि पुनः स्थगित भएको छ ।
२५, २६ र २७ मंसिरमा मोरङको विराटचोकमा सम्पन्न प्रदेश १ को प्रथम अधिवेशनले कार्यसमिति चयन गरे पनि पदाधिकारी चयन गर्न सकेको थिएन । पदाधिकारी चयन गर्न बुधबार मंसिरमा विराटनगरमा बैठक बसेको थियो । तर, बुधबार पनि पदाधिकारी चयन हुन नसकेपछि बैठक स्थगित भएको हो ।
सुरुमा २५ र २६ का लागि अधिवेशन आयोजना गरिएको भए पनि पदाधिकारीमा चर्को प्रतिस्पर्धा देखिएपछि एक दिन लम्ब्याएर पार्टी केन्द्रले सहमतिको प्रयास गरेको एक नेताले बताए । उनका अनुसार थपिएको समयमा पनि सहमति जुट्न नसकेपछि पदाधिकारीविना नै दुई सय ६९ सदस्यीय प्रदेश कार्यसमिति र ९६ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको थियो । बुधबार सो कार्यसमिति बैठकले अध्यक्ष र पदाधिकारी चयन गर्ने भनिए पनि सहमति जुट्न सकेन । कार्यसमितिका धेरै सदस्यले प्रतिस्पर्धीहरू धेरै देखिएकाले निर्वाचनबाट पदाधिकारी चयन गर्न माग गरेका छन् ।
पदाधिकारी छान्न कार्यदल गठन
सर्वसम्मत पदाधिकारी छान्न अजम्बर काङबाङको नेतृत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा सुरेश राई, इन्द्र आङ्बो र हेमराज भण्डारी सदस्य छन् । उनीहरू सबै अध्यक्षका दाबेदार थिए । तर, सबै केन्द्रीय सदस्य रहेकाले अध्यक्ष बन्न केन्द्रीय सदस्य छाड्नुपर्ने भएकाले अध्यक्षको दाबेदारीबाट उनीहरू पछाडि हटेका छन् ।
प्रदेश समितिभित्रैबाट अध्यक्ष चयन गर्ने भएकाले तत्काल बैठक स्थगित गरिएको माओवादी केन्द्रका प्रदेश संयोजक सुरेश राईले बताए । उनका अनुसार ७ पुसमा बस्ने कार्यसमिति बैठकले अध्यक्ष र पदाधिकारीहरू चयन गर्नेछ । माओवादी केन्द्रको प्रदेश १ समितिमा एक अध्यक्ष, एक महिलासहित तीन उपाध्यक्ष एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था छ ।