कांग्रेस मतदानस्थलको दृश्य

मंगलबार, २८ मंसिर, २०७८
डिजिटल संस्करण
कांग्रेस मतदानस्थलको दृश्य

कांग्रेस नयाँ नेतृत्वका लागि सोमबार मतदानस्थलमा भोट हाल्न लाइनमा बसेका प्रतिनिधि । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

धेरै नयाँ प्रतिनिधि आएकाले पदाधिकारीदेखि केन्द्रीय सदस्यका उम्मेदवार बिहानदेखि साँझसम्मै मत माग्न व्यस्त  

कांग्रेस नयाँ नेतृत्वका लागि सोमबार मतदान सम्पन्न भएको छ । कांग्रेस १४औँ महाधिवेशन २४ मंसिरबाट सुरु भएको थियो । मतदानको दिन भएकाले अन्य दिनभन्दा सोमबार बिहान प्रतिनिधिको संख्या बढी नै देखिन्थे । बिहान साढे ७ बजेतिर महाधिवेशनस्थल भृकुटीमण्डप पुग्दा पर्यटन बोर्डअगाडि सशस्त्र प्रहरीले ब्यारिकेड राखिसकेको थियो । सभागृहमा कर्णाली र लुम्बिनी प्रदेशका लागि मतदान केन्द्र तोकिएको थियो । महिला र पुरुषको भिन्दाभिन्दै लाइन थियो । 

केही प्रतिनिधि सभागृह गेटबाट दक्षिणतर्फको फुटपाथमा लाइनमा थिए । सभागृहअगाडिको सडक भने खालीखाली नै थियो । महाधिवेशन प्रतिनिधिहरू ‘जय नेपाल’ भन्दै हात जोड्दै एक अर्कासँग अभिवादन साटासाट गर्ने गर्थे । भृकुटीमण्डप गेटलाई पनि सुरक्षाकर्मीले सभागृहको गेटलाई जस्तै वारपार उभिएर प्रतिनिधिबाहेकलाई प्रवेशमा रोक लगाएको थियो । बाँकी पाँचै प्रदेशको मतदान केन्द्र भृकुटीमण्डपभित्र थियो । गेटको उत्तर र दक्षिण दुवैतर्फ महिला र पुरुष छुट्टाछुट्टै लामबद्ध भइसकेका थिए ।

निमा पुस्तक प्रकाशनअगाडि सशस्त्रको अर्को ब्यारिकेड थियो । जसको उद्देश्य प्रदर्शनीमार्गको उत्तरतर्फबाट प्रतिनिधिको कार्ड नझुन्ड्याई आएकालाई भृकुटीमण्डपसम्म पुग्न नदिनु थियो । दुवैतर्फबाट सशस्त्रको ब्यारिकेडले सभागृहदेखि विश्वभाषा क्याम्पससम्म प्रतिनिधिको कार्ड बोक्नेहरू मात्र देखिन्थे । प्रहरीहरू प्रचार सामग्री लिएर नजान प्रतिनिधिहरूलाई वेलावेला आग्रह गरिरहन्थे । फाटफुट रूपमा भिजिटिङ कार्ड बाँड्नेबाहेक कुनै पनि प्रकारका प्रचार सामग्रीको प्रयोग भएको देखिँदैनथ्यो । रत्नराज्य क्याम्पसदेखि टुकुचा खोलाको पुलपारिसम्म उम्मेदवारका समर्थकले निर्वाध रूपमा पर्चा बाँडिरहेका थिए । तर, नाराबाजी भने कसैले गरेको सुनिँदैनथ्यो । 

बिहान करिब साढे ८ बजे कांग्रेस नेता रामहरि खतिवडासँग कसैले केन्द्रीय सदस्यमा भोट मागिरहेका थिए । खतिवडाले उनको क्रमसंख्या बताउन भने । ती प्रतिनिधिले आफ्नो भिजिटिङ कार्ड दिँदै उम्मेदवारको सूचीमा आफ्नो नाम रहेको क्रम संख्या बताए । ‘तपाईंलाई मत नहाल्ने भन्ने कुरै हुँदैन’ भन्दै भिजिटिङ कार्ड हातमा लिएर खतिवडा सभागृहतर्फ लागे । 

सोमबार ८ बजे मतदान सुरु गर्ने भनिएको थियो । तर, भएन । ८:५० बजे महामन्त्रीका उम्मेदवार गगन थापा राष्ट्रिय सभागृहअगाडि देखिए । उनी आफ्ना केही सहयोगीसहित प्रतिनिधिहरूसँग हात जोड्दै, तस्बिर खिचाउँदै हिँडिरहेका थिए । ‘म अगाडि बढेँ है’ भन्दै सभागृहबाट टुँडिखेलतर्फ लाइनमा उभिएका प्रतिनिधिहरूसँग फुटपाथको बारभित्रै पुगेर थापाले हात जोड्न थाले । त्यत्तिकैमा उपसभापतिका उम्मेदवार धनराज गुरुङ सभागृहअगाडि आइपुगे । प्रतिनिधिहरूसँग हात मिलाउँदै उनी भृकुटीमण्डप गेटतर्फ सोझिए । 

सभागृहको गेटैमा आफ्नो पर्चा दिँदै एक महिला प्रतिनिधिले अर्का पुरुष प्रतिनिधिसँग भोट माग्दै थिइन् । पुरुष प्रतिनिधिले झर्किएको लवजमा भने, ‘मुखैले माग्नुस् न भोट । अब पर्चा नबाँड्नुस् । सक्नुहुन्न र ?’ यत्तिकैमा सभापतिका उम्मेदवार कल्याण गुरुङ आफ्ना एक सहयोगीसँग काजपत्र मिलाउँदै गरेको अवस्थामा देखिए । 

सभागृहमा एक र भृकुटीमण्डपभित्र दुई गरी तीनवटा मतदान केन्द्र तोकिएको थियो । सभागृह अगाडि महाधिवेशन प्रतिनिधिको कार्ड भिरेका एकजना फोनमा बोल्दै थिए । तपाईं अर्को प्रदेशकोमा जानुभयो । त्यता होइन यता आउनुस् भन्दै सभागृहपट्टि बोलाइरहेका थिए । करिब ९:१५ बजे टुडिँखेलतिरबाट नेता एनपी साउद आइरहेका देखिए । साउद र गुरुङको जम्काभेट भयो । दुवैजनाले एक–अर्कालाई हेर्दै मुसुक्क हाँस्दै हात मिलाए र अंकमाल गरे । 

करिब साढे ९ बजेतिर महामन्त्रीका अर्का उम्मेदवार डा.मीनेन्द्र रिजाल दुई–चारजनासँग बोलिरहेका थिए । त्यतिकैमा अरू चार–पाँचजना प्रतिनिधिको टोली आयो । रिजालले भने, ‘राजनीति गर्ने हामीहरूको हात निकै खराब पो छ त, जोसँग पनि हात मिलायो । अब आज जेसुकै होला, बरु भोलि सुतौँला ।’

मतदान ढिला भएको भन्दै प्रतिनिधि निराश
भृकुटीमण्डप गेटको ठीक अघिल्तिर ‘१० बज्न लाग्दा पनि अझै मतदान सुरु गरेका छैनन्’ भन्दै सहमहामन्त्रीका उम्मेदवार भीष्मराज आङ्देम्बे कराउँदै देखिए । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भृकुटीमण्डपको गेटअगाडि फोनमा ‘ठीक बाहिर के गेटको ठीक बाहिर’ भन्दै फोनमा बोलिरहेका थिए । एकैछिनमा विनाविभागीय मन्त्री उमेश श्रेष्ठ ‘यहाँ पो होइसिन्छ भन्दै मन्त्री कार्की भएको ठाउँमा आइपुगे । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पनि भोट मागिरहेका देखिन्थे । 

प्रहरीले भने कुन प्रदेशका प्रतिनिधि कता लाइनमा बस्ने भन्दै माइकिङ गरिरहेको थियो । भृकुटीमण्डप गेटको दक्षिणतर्फ लाइनमा उभिएका प्रतिनिधिहरूसँग एकजना वृद्ध उमेरका जस्ता देखिनेले ‘भोट फर चेन्ज’ भन्दै आफूले लगाएको टोपीमा भएको सभापतिका उम्मेदवार प्रकाशमान सिंहको फोटो देखाउँदै हिँडिरहेका थिए । 

एकजना महिला गरगहना र चम्किलो रातो रङको सारी ब्लाउज लगाएर सजिएर आउँदै थिइन् । केहीले उनीसँग सेल्फी पनि खिचे । तपाईंको नाम के हो ? जवाफमा उनले भनिन्, ‘भुलिया राना ।’ किन यस्तो कपडा लगाउनुभएको ? ‘यो राना थारूहरूको संस्कृतिसँग जोडिएको छ । देशका सबै क्षेत्रबाट साथीहरू आउनुभएको छ । हाम्रो मौलिक पहिचान चिनाउने यो उपयुक्त अवसर हो भन्ने ठानेर मैले हाम्रो पोसाक लगाएर आएको हो,’ उनले जवाफ दिइन् । 

तीनपांग्रे स्कुटरमा अगाडिको खाली स्पेसमा ह्विलचियर फोल्ड गरी बिस्तारै चलाउँदै अगाडि बढिरहेका एकजना देखिए । उनी राष्ट्रिय लोकतान्त्रिक अपांग संघका केन्द्रीय अध्यक्ष भोजराज श्रेष्ठ रहेछन् । उनले पार्टीको नयाँ नेतृत्वले अपांगता भएकाहरूलाई राजनीतिको मूलधारमा ल्याउन सक्नुपर्ने बताए । ‘अबको नेतृत्व कांग्रेसको विचलनबाट माथि उठेर समतामूलक समाज निर्माण गर्ने अठोटसहित आउनुपर्छ,’ श्रेष्ठले भने । 

सडकभरि पर्चा
प्रहरीले ब्यारिकेड राखेपछि मानिसहरूको भिड वाल्मीकि क्याम्पससम्म थियो । करिब १० बज्दासम्म समर्थकहरूले पर्चाहरू छर्दै हिँडेका भए पनि नाराबाजी र होहल्ला कतै सुनिएको थिएन । मानिसहरू आउने–जानेक्रम चलिरहेको थियो । बाक्लिँदै गएको भिडले बाहिर जानेभन्दा प्रदर्शनीमार्ग छिर्नेहरूको संख्या धेरै भएको सहजै अनुमान लगाउन सकिन्थ्यो । १०ः३० बजेसम्म प्रहरीको ब्यारिकेड र वाल्मीकिबीचको सडक पर्चाहरूले ढाकिइसकेको थियो । 

भृकुटीमण्डपभित्र खाजा खान जानका लागि साझा प्रकाशनको अगाडितर्फको गेटबाट प्रतिनिधिहरूलाई भित्र जाने बन्दोबस्त गरिएको थियो । भित्र पुग्दा प्रतिनिधिहरू खाना खाइरहेका थिए, कोही उभिएर, कोही कुर्सीमा बसेर त कोही चौरमै । मतदान सुरु नभएकोमा निराश देखिन्थे । केही महिला प्रतिनिधिहरू ‘बल्ल बल्ल भेट भाको वेला, फोटो खिचौँ होला’ भन्दै फोटो खिचिरहेका थिए ।

पर्साबाट आएका पार्वतीदेवी कुर्मी र मीना पाण्डेय कुर्सीमा बसेर घाम तापिरहेका थिए । उनीहरूसँग कुरा गर्न खोज्दा नेपाली भाषामा बोल्न असहज हुने, यदि भोजपुरी बोल्ने भए कुरा गर्ने बताए । जसकारण कुराकानी हुन सकेन । प्रतिनिधिहरू एक–आपसमा जय नेपाल भन्दै हिँडिरहेका देखिन्थे । त्यत्तिकैमा कांग्रेस नेता शेखर कोइराला जय नेपाल भन्दै खाजा खाने स्थानतिर आइरहेका देखिए । उनीसँग केहीले तस्बिर खिचाउँदै थिए । उनले दाङकी एक महिला प्रतिनिधिलाई भने, ‘दाङले भोट दिएन भने, गयो नि फेरि ।’ उनी फोटो खिचाउँदै अगाडि बढे । केन्द्रीय सदस्यहरूले आफ्नो क्रमसंख्या बताउँदै भोट मागिरहेका थिए । 

त्यतिन्जेलसम्म भृकुटीमण्डपबाहिर नाराबाजी सुरु भइसकेको थियो । समर्थकहरू ब्यानरसहितका सामग्री लिएर नारा लगाइरहेका थिए । रामेछापका दीपक श्रेष्ठ रत्नराज्य क्याम्पस गेटको बायाँपट्टि कांग्रेससँग सम्बन्धित पुस्तक फिँजाएर व्यापारका लागि बसेका थिए । उनले १३औँ महाधिवेशनमा पनि त्यसरी नै पुस्तक फिँजाएर बेच्न राखेको बताए । आशा गरेजस्तो व्यापार भइरहेको छ त ? ‘अघिल्लो महाधिवेशनमा भन्दा यसपटक प्रतिनिधिहरू तथा समर्थकहरूको पुस्तकतर्फको रुचि घटेको जस्तो छ,’ उनले भने ।

कुलबहादुर गुरुङले भने– नेता होइन, कार्यकर्ता भन्नुस्
प्रहरीले ल क्याम्पसदेखि प्रचार सामग्री लिएर भृकुटीमण्डपतर्फ जान प्रतिनिधिहरूलाई पनि दिइरहेको थिएन । दिउँसो करिब १ बज्दा पनि लाइनको पछाडि बसेका प्रतिनिधिहरूलाई मतदान सुरु भयो कि भएन थाहा थिएन । उनीहरू कसैले मतदान सुरु भइसकेको त कसैले सुरु नै नभएको बताइरहेको सुनिन्थ्यो । कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङ कालो लङ कोट लगाएर आए । तपाईं त पुरानो नेता... ‘नेता होइन कार्यकर्ता भन्नुस्’, उनले बीचैमा रोके । पहिले–पहिलेको भन्दा अहिलेको महाधिवेशनमा के फरक पाउनुभयो ? 'पहिले–पहिले सत्तासँग लुकेर गर्नुपथ्र्यो...' उनी अड्किए । अहिले आफैँ सत्तामा बसेर गरिन्छ होइन त ? ‘खोइ सत्तामा हो कि होइन थाहा भएन,’ उनले भने । 

करिब ३ बज्दासम्म पनि ल क्याम्पसदेखि वाल्मीकि क्याम्पससम्म नाराबाजी गर्दै र पर्चा पम्प्लेट छर्दै समर्थकहरू यताबाट उता र यताबाट उता गरिरहेका थिए । कलाकार विमलराज क्षेत्री भृकुटीमण्डपभित्र देखिए । उनले नेपाली कांग्रेस जलबाट ढल भएको र यसलाई फेरि जल बनाउनुपर्ने बताए । करिब ४ बजेतिर भृकुटीमण्डपभित्र गृहमन्त्री बालकृष्ण खाण देखिए । उनीसँग प्रतिनिधिहरूले तस्बिर खिचाइरहेका थिए । 

बाहिर नाराजुलुस र होहल्ला रोकिएको थियो । करिब साढे ४ बजेतिर प्रतिनिधिहरूसँग फोटो खिचाइरहेको अवस्थामा कृष्णप्रसाद सिटौला देखिए । एकजनाले उनलाई सोधे, ‘दाइले भोट हालिसक्नुभो ?’ ‘अँ । मतपत्र हेरिवरी आएँ’, सिटौलले मसिनो स्वरमा भने । ५ बजेतिर लाइनको बीच भागतिर उभिएका प्रतिनिधिहरूले निराश भावमा पालो आउन अझै दुई–तीन घन्टा लाग्ने बताए । साढे ५ बजे प्रदर्शनीमार्गभित्र छिर्नेभन्दा बाहिरिनेको संख्या बढी भएको देखिन्थ्यो । प्रदर्शनीमार्गको पूर्वदेखि पश्चिमसम्म पर्चा र पम्प्लेटले ढाकिएको थियो । 

सुझावित समाचार