समान १० अंक भए पनि सर्वाधिक आठपटकको विजेता मनाङलाई गोलअन्तरमा पछि पार्दै मच्छिन्द्र लिगको शीर्ष स्थानमा उक्लियो
साबिक विजेता मच्छिन्द्र फुटबल क्लब शनिबार सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ । दशरथ रंगशालामा हिमालयन शेर्पा क्लबमाथि ३–० को सहज जित निकाल्दै मच्छिन्द्र शीर्ष स्थानमा पुगेको हो । यसअघि शीर्ष स्थानमा मनाङ मर्स्याङ्दी क्लब थियो । लिगको चार चरणको खेलमा मच्छिन्द्र र मनाङले समान १० अंक बटुलेका छन् । गोलअन्तरमा मनाङ दोस्रो स्थानमा झरेको हो । हिमालयन दुई अंकका साथ १२औँ स्थानमा छ ।
मच्छिन्द्रको जितमा सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्तीमगरले एक–एक गोल गरेका थिए । मच्छिन्द्रले हिमालयनमाथि सुरुदेखि नै दबाब राखेको थियो । सुरुवाती केही गोल अवसर चुकाएको मच्छिन्द्रलाई खेलको २९औँ मिनेटमा सुनिलले १–० को अग्रता दिलाए । ओमोलाजा नुरेन करिमको फ्रिकिकमा सुनिलले वान टचमै उत्कृष्ट गोल गरेका हुन् ।
ओमोलाजाले प्रहार गरेको फ्रिकिक रोक्न अगाडि बढेका गोलरक्षक आफ्नो पोसेसनभन्दा बाहिर थिए । सुनिलको यो लिगमा तेस्रो गोल हो । उनले एनआरटीविरुद्धको जितमा दुई गोल गरेका थिए । खेलको ११औँ मिनेटमा आकर्षक मुभमा मच्छिन्द्रले सुरुमै अग्रता लिन अवसर चुकायो ।
नुर्लानले गोलरक्षक मात्र रहेको वान भर्सेस वानकै अवस्थामा गरेको प्रहार क्रसबारमा लागेको थियो । खेलको ६७औँ मिनेटमा नुर्लानले मच्छिन्द्रलाई २–० को स्थितिमा राखे । त्यसपछि अन्तिम इन्जुरी समयमा विमल घर्तीमगरले मच्छिन्द्रको जित ३–० ले पक्का पारे । विमलले अघिल्लो खेलमा मौका पाएका थिएनन् ।
सातदोबाटोको पहिलो हार
नवप्रवेशी सातदोबाटो युथ क्लबले जारी लिगमा पहिलो हारको सामना गरेको छ । अघिल्लो तीन खेलमा अपराजित रहेको सातदोबाटो शनिबार न्युरोड टिम (एनआरटी)सँग १–० ले पराजित भएको हो । पहिलो हाफमा सातदोबाटो र एनआरटीबीच गोलरहित बराबरी भएको थियो । मध्यान्तरपछि एनआरटीले सुधारिएको प्रदर्शन गर्यो । दोस्रो हाफको बल चलाएको १५ सेकेन्डमै स्टेफन समिरले एनआरटीलाई १–० को अग्रता दिलाए ।
सातदोबाटोका करण रावतको मिस पासलाई ओलुमोउले नियन्त्रणमा लिँदै स्टेफनलाई पास दिए । उनले एनआरटीका खेलाडी सम्हालिन नपाएको मौकामा अग्रता गोल गरे । खेलमा थप गोल नहुँदा उनको गोल नै निर्णायक बन्यो । यसअघि खेलको १६औँ मिनेटमा आकाश बुढामगरको फ्रिकिकलाई एनआरटीका डिफेन्डरले क्लियर गरेका थिए । खेलको ४४औँ मिनेटमा स्टेफन समिरको प्रहारलाई सातदोबाटोका कप्तान मानबहादुर तामाङले बचाए ।
लिगमा व्यहोरेको पहिलो हारसँगै सातदोबाटोले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । सातादोबाटो चार खेलबाट सात अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लिगमा पहिलो जित निकालेको एनआरटी चार खेलबाट पाँच अंक जोडेर सातौँ स्थानमा उक्लिएको छ ।
एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले तीन अंक पाउँदा खुसी लागेको बताएका छन् । ‘हामीले महत्वपूर्ण तीन अंक बटुलेका छौँ, तर खेलबाट त्यति सन्तुष्ट हुन सकिनँ,’ खेलपछि आयोजित पत्रकार सम्मेलनमा शाक्यले भने, ‘अघिल्लो खेलभन्दा सातदोबाटोविरुद्धको खेल अलि खस्किएको छ ।’
सातदोबाटोका प्रशिक्षक मेघराज कोसीले एनआरटीविरुद्ध खेलाडीले गतिलो पास नखेलेको बताएका छन् । ‘खेलाडीहरूले सही स्थानमा पास उपलब्ध गराउन सकेनन्, हामीले धेरै गोल अवसर पनि खेर फाल्यौँ,’ केसीले भने ।