नेपाली खेलाडी सलोनी तामाङले ‘यू–१८ आइटिएफ वर्ल्ड र्याङ्किङ टेनिस टुर जे–५ सर्किट २’ प्रतियोगिताअन्तर्गत महिला एकलको उपाधि जितेकी छन् । शनिबार सम्पन्न फाइनलमा तामाङले नेपालकै सर्भानी श्रेष्ठलाई ६–४, ४–६ र ६–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेकी हुन् । प्रतियोगितामा तामाङको यो दोस्रो उपाधि हो । उनले एक साताअघि सम्पन्न सर्किट १ अन्तर्गत महिला एकलतर्फ नै उपाधि जितेकी थिइन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको प्रतियोगिताअन्तर्गत पुरुष एकल फाइनलमा हंगेरीका लोरान्ट ग्योरीले स्विडेनका इमिलियो जियलकोस्कीलाई ६–३ र ७–५ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे । महिला डबल्सको उपाधि भारतीय खेलाडी नियति कुक्रेती र हाना नागपालले जिते । नागपालको जोडीले भारतकै रिया दुगर र तनुश्री पाण्डेको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरेको थियो ।
पुरुष डबल्सतर्फको उपाधि भारतीय खेलाडी कविर छावरिया र दक्ष प्रसादले उचाले । छावरियाको जोडीले अमेरिकाका सिद्धार्थ लामा र मिथ्रे ब्यारेटको जोडी ७–६(५), १–६ र १२–१० को सेटमा फाइनलमा पराजित गरेको थियो । विजेता खेलाडीले अन्तर्राष्ट्रिय टेनिस संघबाट वरीयता प्राप्त गर्नेछन् । सर्किट–२ मा नेपालसहित ११ देशका ८८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा भारतबाट ४१ खेलाडीसँगै नेपालबाट सर्वाधिक २९ जनाले प्रतिस्पर्धा गरे ।