नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ राष्ट्रिय क्रिकेट टोलीका लागि प्रारम्भिक २० खेलाडी छनोट गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न राष्ट्रिय यू–१९ क्रिकेट प्रतियोगितामा खेलाडीहरूले प्रदर्शन गरेको आधारमा खेलाडी छनोट गरेको क्यानले जनाएको छ । क्यानले छानेको टोलीमा यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिमका खेलाडीको बाहुल्यता रहेको छ ।
विवेक यादव, तिलकराज भण्डारी, शेर मल्ल तथा गुलसन झा मात्र पुराना खेलाडी हुन् । राष्ट्रिय टोलीबाट गुलसनले डेब्यु गरिसकेका छन् । गत सेप्टेम्बरमा ओमानमा भएको आइसिसी वल्र्ड लिग २ क्रिकेट प्रतियोगितामा गुलसनले अमेरिकाविरुद्धको खेलबाट डेब्यू गरेका थिए । उनले आफ्नो डेब्यू खेलमा २८ रन बनाएका थिए । उनले अमेरिकाविरुद्ध बलिङ गर्दै तीन ओभरमा ३१ रन खर्चे । डेब्यू खेलमा उनी विकेटविहीन भएका थिए ।
टोलीमा शतकीय इनिङ्स खेल्ने तीन खेलाडी
क्यानले युएईमा डिसेम्बर तेस्रो सातामा हुने यू–१९ एसिया कपका लागि घोषणा गरेको प्रारम्भिक लिस्टमा यू–१९ राष्ट्रिय क्रिकेटमा शतकीय इनिङ्स खेलेका तीन खेलाडी समावेश गरेको छ । सुदूरपश्चिमका विकेटकिपर ब्याट्सम्यानसमेत रहेका अर्जुन साउदले राष्ट्रिय यू–१९ क्रिकेट प्रतियोगिताकै पहिलो शतकका रूपमा प्रदेश २ विरुद्ध ११९ रनको इनिङ्स खेलेका थिए ।
यसैगरी प्रदेश २ का सन्तोष कार्कीले बागमती प्रदेशविरुद्ध १११ रन बनाएका थिए । उनले राउन्ड रोविन लिगमा लुम्बिनीविरुद्ध पनि ८२ रन जोडे । प्रदेश १ का सोनु अन्सारीले प्रदेश २ विरुद्ध ११९ रनको शतकीय इनिङ्स खेलेका थिए । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमका सिमर दुर्गेश गुप्ता र अलराउन्डर नारायण जोशी छनोटमा परेनन् । दुर्गेशले प्रतियोगितामा आठ विकेट लिएका थिए । यू १९ एसिया कपका लागि पाकिस्तान र अफगानिस्तानले पनि टोली घोषणा गरिसकेका छन् ।
यू–१९ को प्रारम्भिक टोलीका सदस्य
देव खनाल, मोहम्मद हसन, बहिर अहमद, सन्तोष कार्की, विवेक यादव, विवेक रानामगर, तिलकराज भण्डारी, सोनु अन्सारी, दीपक कँडेल, अर्जुन कुमाल, कमल परियार, अनुज चनारा, प्रकाश जैशी, वसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुलसन झा, विपिन शाही र आदिल अन्सारी