सभापतिको दौडबाट बाहिरिएका प्रधान भन्छन्–न्यायसंगत हुने ठानेर बानियाँलाई सहयोग गर्ने निर्णय लिएको हुँ

आइतबार, १९ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएका कांग्रेस नेता भीमसेनदास प्रधानले न्यायसंगत हुने ठानेर सभापतिका दुई दाबेदारमध्ये इन्द्र बानियाँलाई सहयोग गर्ने निर्णय लिएको प्रतिक्रिया दिएका छन्। नयाँ पत्रिकासँग कुरा गर्दै प्रधानले यस्तो प्रतिक्रिया दिएका हुन्। 

तीनजनाबीच प्रतिस्पर्धा हुँदा सबैभन्दा बढी मत बानियाँको आएकाले आफूले सोहि आधारमा सघाउने निर्णय गरेको प्रधानले बताए। ‘तीनजनामा प्रतिस्पर्धा हुँदा सबैभन्दा बढी मत बानियाँको आएको थियो। त्यस आधारमा न्यायसंगत हुने ठानेर मैले बानियाँलाई सहयोग गर्ने निर्णय लिएको हुँ,’ उनले भने। 

कांग्रेस बागमती प्रदेश अधिवेशनमा सभापति पदमा पुनः मतदान हुने भएपछि तेस्रो भएका कृष्ण सिटौला पक्षका प्रधानले सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार इन्द्र बानियाँलाई साथ दिने भएका  हुन्।
 
कांग्रेसको विधानबमोजिम सभापतिमा दुई वा सोभन्दा बढी उम्मेदवार हुँदा ५१ प्रतिशत मत प्राप्त गर्ने विजयी हुने प्रावधान छ। शनिबार भएको मतदान प्रक्रियाबाट बानियाँ, जगदीश्वर नरसिंह केसी र प्रधान तीनजनामध्ये कसैले ५१ प्रतिशत मत नल्याएपछि अहिले पुनः मतदान भइरहेको छ। पुनः मतदानमा सभापतिका उम्मेदवारहरू बानियाँ र केसीबीच प्रतिस्पर्धा भइरहेको छ। मतका आधारमा तेस्रो भएका प्रधान चुनावी मैदानबाट बाहिरिएपछि उनले बानियाँलाई साथ दिने घोषणा गरेका हुन्।

सभापतिमा बानियाँले नाै सय ९२, दोस्रो हुने केसीले ८ सय ७२ मत र तेस्रो हुने प्रधानले १ सय ९७ मात्र मत पाएका थिए। बानियाँ ४८ प्रतिशत मत ल्याएर बढी मत ल्याउने उम्मेदवार भएका छन्। निर्वाचन समितिका अनुसार कुल २ हजार १ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो। संस्थापन पक्षबाट बानियाँ, संस्थापनइतरबाट केसी र सिटौला पक्षबाट प्रधानले प्रतिस्पर्धा गरेका थिए। 

सभापतिमा फेरि मतदान हुने भएपछि पदाधिकारी र सदस्यहरूको मतगणना रोकिएको छ। दोस्रो चरणको मतदान अहिले जारी छ।

सुझावित समाचार