कांग्रेसमा करिब साढे आठ लाख सक्रिय कार्यकर्ता, ३९ हजार २६ वर्षमुनिका

शुक्रबार, १७ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको क्रियाशील सदस्य संख्या आठ लाख ४० हजार १०६ जना कायम भएको छ। १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसले क्रियाशील सदस्यको यकिन संख्याबारे जानकारी दिएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार चार लाख १० हजार ६८४ नवीकरण भएका र ४ लाख २९ हजार ४२२ नयाँ सदस्य थप भएका हुन्। कांग्रेसको तथ्यांकअनुसार उमेर समूहका आधारमा १६ देखि २५ वर्षसम्मका ३९ हजार तथा ७५ वर्ष नाघेका साढे ११ हजार बढी क्रियाशील रहेको देखिन्छ।

यस्तो छ क्रियाशील सदस्यता विवरण :
उमेर समूहका आधारमा
१६ देखि २५ वर्ष – ३८,९४२ 
२६ देखि ४० वर्ष – २,४३,२८७ 
४१ देखि ६० वर्ष – ३२११७४
६१ देखि ७५ वर्ष – ८१६४७
७६ वर्षदेखि माथि– ११,६२३

प्रदेशगत विवरण
प्रदेश १ – १,७४,८१३
प्रदेश २ – १,००,९९९
बागमती – १,८६,३३५
गण्डकी – १,१८,१४५
लुम्बिनी – १,३१,११७
कर्णाली – ५३,५९६
सुदूरपश्चिम – ७५,१०१

लैंगिक आधारमा
पुरुष– ६,४४,५६५
महिला– १,९५,३७२
अन्य–१६९

९४ प्रतिशत पद सर्वसम्मत, ६ प्रतिशत मतदानबाट चयन
कांग्रेसले महाधिवेशनअन्तर्गत सुरु भएका वडा तहदेखि हालसम्मको अधिबेशनबाट करिब एक लाख ५० हजार पदमा नेतृत्व चयन गरेको छ। कांग्रेस केन्द्रीय प्रचार विभागको तथ्यांकअनुसार वडा, स्थानीय तह, प्रदेश सभा क्षेत्र अधिवेशन, प्रतिनिधिसभा क्षेत्र अधिवेशन, जिल्ला र केन्द्रीय महाधिवेशन प्रतिनिधि गरीे ९४ प्रतिशत पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो।

विभागको विवरणअनुसार एक लाख ४१ हजार ४३ पदमा सर्वसम्मत चयन भएको र ८ हजार  ४ सय ७४ जना अर्थात् ६ प्रतिशत पदमा मात्र निर्वाचनमार्फत नेतृत्व चयन भएका हुन्। विभाग प्रमुखसमेत रहेका प्रवक्ता शर्माले करिब डेढ लाख पदमा नेतृत्व चयन भएको जानकारी दिए। विवरणअनुसार नेतृत्वमा पुगेकामध्ये ६८ हजार ८ सय ३२ जना खस–आर्य, ५ हजार ८ सय २७ थारू समुदायका तर्फबाट, १ हजार ८ सय ६४ जना अपांगता भएका र ४१ हजार २ सय ५६ जना आदिवासी जनजाति समुदायतर्फका रहेका छन्।

सुझावित समाचार