माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०६४ मा जस्तै आगामी निर्वाचनमा माओवादीले जित हासिल गर्ने दाबी गरेका छन् । रौतहटको कटहरिया बजारमा माओवादी केन्द्रले शनिबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन् ।
उनले मधेसी समुदायको अधिकार संविधानमा सुरक्षित गर्न पनि आफू नेतृत्वको पार्टीले जित्नुपर्ने जिकिर गरे । ‘रौतहट आत्मसमर्पणकारीहरूको जिल्ला होइन, लाल क्रान्तिकारीहरूको जिल्ला हो,’ उनले भने, ‘केही दलाल, केही भगौडा, केही प्रतिगामीहरू आत्मसमर्पण गर्दैमा रौतहटवासी झुक्दैनन्, माओवादी केन्द्रलाई अत्यधिक मतले विजयी गराउँछन् ।’
दलित, मुस्लिम, पिछडिएकाहरूका लागि विशेष अधिकार दिलाउन आफू क्रियाशील रहेको र यसका लागि ठूलो लडाइँ लड्नुपरेको उनले स्मरण गरे । परिवर्तनका लागि देशभरिमा १७ हजारले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले एक हजार ३०० भन्दा बढी मधेसी जनताले बलिदान दिएर परिवर्तनका लागि योगदान गरेको स्मरण गरे ।
किसानको समस्यालाई मध्यनजर गर्दै बन्द रहेको श्रीराम सुगर मिल सञ्चालन गराउन आफूले पूरै ताकत लगाउने आश्वासनसमेत उनले दिए । रौतहटवासीले वर्षेनी खेप्दै आएका डुबानको समस्यालाई समाधान गर्न ऊर्जा तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयलाई लालबकैया र बागमती नदी नियन्त्रण गर्न तटबन्धको व्यवस्था मिलाउन आफूले निर्देशन दिने पनि उनले बताए ।