संवैधानिक आयोगका पदाधिकारीलाई वरिष्ठ अधिवक्ता थापाको प्रश्न- ‘अवैध’हरूले हामी वैधलाई सुझाव दिने ?

बुधबार, १ मंसिर, २०७८
डिजिटल संस्करण

वरिष्ठ अधिवक्ता शम्भु थापाले संवैधानिक निकायमा नियुक्ति पाएका ५२ जनाले आफूहरूलाई सन्देश दिएकोप्रति आपत्ति जनाएका छन्। नेपाल बार एसोसिएसनको आह्वानमा भएको धर्नापछिको विरोध सभामा बोल्दै उनले अवैध रूपमा नियुक्त भएकाहरूले सुझाव दिन नमिल्ने प्रतिक्रिया दिएका हुन्।

‘यसपालि हामी अप्रेसन गरेर अदालतको विकृति हटाउँछौँ। अप्रेसन गर्दै जाँदा भ्रष्टाचारको विषयमा अरू तथ्य र व्यक्ति पनि खुल्छन्,’ उनले भने, ‘५२ जनाले विज्ञप्ति निकालेर सल्लाह दिए। अवैध सन्तानले हामीजस्तो वैधलाई सन्देश दिने ? चोलेन्द्रले अदालतलाई सुनुवाइ नगर भन्न मिल्छ ?’

आठ संवैधानिक निकायका अध्यक्ष र पदाधिकारीहरूले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै बन्दी प्रत्यक्षीकरणलगायतका मुद्दामा सुनुवाइ नहुँदा नागरिकको न्याय पाउने अधिकारमा बाधा उत्पन्न भएको उल्लेख गरिएका थिए। अध्यादेशका बलमा संसदीय सुनुवाइविना नै गरिएको उनीहरूको नियुक्ति  अवैध भएको भन्दै सर्वोच्च अदालतमै मुद्दा विचाराधीन रहेकोतर्फ इंगित गर्दै थापाले यस्तो जवाफ फर्काएका हुन्।

सुझावित समाचार