आगामी १२ पुसदेखि लमजुङमा राष्ट्रव्यापी फुटबल प्रतियोगिता हुने भएको छ । त्रिवेणी युवा क्लबले शनिबार बेँसीसहरमा पत्रकार सम्मेलन गरी २९औँ त्रिवेणी कपबारे जानकारी दिएको हो ।
त्रिवेणी कपको पहिलो संस्करणमा पहिलो हुने समूहलाई नगद ५ लाख त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो हुने समूहलाई रजत पदकसहित नगद ३ लाख प्रदान गरिनेछ । सेमिफाइनल उपविजेता दुई समूहलाई नगद ५०–५० हजार प्रदान गरिने त्रिवेणी युवा क्लबका अध्यक्ष विनोद गुरुङले बताए ।
अध्यक्ष गुरुङका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद १५÷१५ हजार, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । अनुशासित टिमलाई ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगितामा ३३ लाख ६० हजार खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगिता बेँसीसहरमा रहेको सहजी खेल मैदान त्रिवेणी रंगशालामा हुने भएको हो ।
जिल्लामा फुटबल खेलको विकास र प्रवद्र्धन गरी व्यावसायीकरण गर्ने र उच्चस्तरीय फुटबल प्रतीयोगिता सञ्चालन गर्न, नयाँ खेलाडीलाई प्रोत्साहन, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष गुरुङले बताए । गत वर्ष कोरोनाका कारण स्थगित भए पनि यसवर्ष जोखिम कम भएकाले प्रतियोगितालाई निरन्तरता दिइएको क्लबका अध्यक्ष गुरुङले बताए ।