मनाङको स्याउबारी पर्यटकको आकर्षणकाे केन्द्र बन्दै

आइतबार, २१ कार्तिक, २०७८
डिजिटल संस्करण

मनाङको स्याउबारी पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै भएको छ। जिल्लाको ङिस्याङ गाउँपालिका– १ भ्राताङको स्याउ बगैंचाले आन्तरिक तथा बाहिरी पर्यटकको मन  लोभ्याएको छ।  एग्रो मनाङ प्रालिले ६ वर्ष अगाडिदेखि भ्राताङमा सात सय ३५ रोपनी क्षेत्रफलमा स्याउखेती गरेको छ।  

मनाङमा लगाएको स्याउ फार्म हेर्न जिल्ला र जिल्लाबाहिरका पर्यटक आउने गरेका छन्।  अन्नपूर्ण पदमार्गमा आएका विदेशी पर्यटक पनि बगैँचामा नै रमाउने गरेका छन्।  मनाङ घुम्न जानेहरू भ्राताङको स्याउ बगैँचा नघुमी फर्कँदैनन्।  स्याउ बगैँचा घुम्ने, फोटो खिच्ने र स्याउ किनेर लाने गर्छन्।  काठमाडाैंका श्याम कँडेल स्याउ बगैँचाको बारेमा साथीबाट जानकारी पाएपछि लमजुङबाट मनाङको स्याउबारी पुगे।  उनले भने, ‘सबैले कुरा गर्छन्।  साथीहरू पनि घुम्न आएका थिए।  मलाई पनि एकपटक पुगेर स्याउ बगैँचा हेरौँझैँ लाग्यो।  अहिले मज्जाले घुमेँ।  निकै रमाइलो भयो।  यो रमाइलो मौसमको समयमा यहाँको स्याउ बगैँचा डुल्न पाउँदा मन नै आनन्दित भयो।’   

यस्तै राइनासका सुविन थापा स्याउ बगैँचा हेर्नकै लागि पहिलोपटक मनाङ पुगेको बताउँछन्।  उनी भन्छन्– मनाङको प्राकृतिक सौन्दर्यले लोभ्याउनुसम्म लोभ्यायो।  मनाङ पुगेको भोलिपल्टै उनी  ङिस्याङ गाउँपालिका– १, भ्राताङमा रहेको स्याउ फार्ममा पुगेँ।  ‘लटरम्म फलेको राताम्य स्याउ फार्ममा उभिएर मैले ‘सेल्फी’समेत लिएँ।’ उनले भने, ‘एसियाकै सबैभन्दा ठूलो स्याउबारी रहेछ।  त्यहाँसम्म पुग्दा खुसीको कुनै सीमा नै छैन।’ उनी मात्र होइन, राइनासका प्रवीण कँडेल पनि गत वर्ष स्याउ बगैँचा घुम्न मनाङ पुगेका थिए।  उनी भन्छन्, ‘रमाइलो मौसमको समयमा मनाङको स्याउ बगैँचा डुल्न पाउँदा मन नै आनन्दित भयो।  यहाँ आउने धेरै पर्यटक स्याउबारी घुम्न जान लालायित बन्छन्।  बिदाको समयमा त झन् यहाँ अवलोकन गर्न आउनेको घुइँचो नै लाग्छ,’ चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले भने।  

स्याउ बगैँचाले घुम्ने वातावरण सिर्जना गर्ने मात्र नभई कृषिमा लाग्न प्रेरणा दिने गरेको छ।  एग्रो मनाङ प्रालिका अध्यक्ष समराज गुरुङका अनुसार स्याउ हेर्नकै लागि भनेर मानिस आउने गरेका छन्। ‘गोल्डेन’, ‘फुजी’ जातका स्याउ लगाइएको यस फार्ममा अघिल्लो वर्ष चार सय ५० मेट्रिकटन स्याउ उत्पादन भएको थियो।  पछिल्लो समय सडक विस्तार, बजारसम्म स्याउ कृषक तथा व्यवसायीको पहुँचले यो अनुपातमा परिवर्तन भएको स्थानीय बताउँछन्।  

मनाङका चार स्थानीय तहमध्ये नार्पाभूमि बाहेक चामे, नासों र मनाङ ङिस्याङ गाउँपालिकामा स्याउ खेती गरिँदै आएको छ।  सबैको रोजाइ बनेको भ्राताङको स्याउ फार्मका सञ्चालक भने संघीय सांसद पाल्देन छोपाङ गुरुङ हुन्।  गुरुङले सञ्चालन गरेको ‘एग्रो मनाङ कृषि फार्म’ ले भ्राताङमा स्याउ उत्पादन गर्दै आएको छ।   माथिल्लो मनाङ, टंकी मनाङ, खाङ्सार, ङावल, पिसाङ र भ्राकाको संगोलमा रहेको सात सय ३५ रोपनी जग्गा गुरुङका अनुसार फार्ममा विभिन्न तीन थरीका स्याउ लगाइएको छ।  उनका अनुसार समुद्री सतहदेखि दुई हजार नाै सय मिटर उचाइको भ्राताङमा इटली र सर्भियाबाट स्याउ बोट ल्याएर हाइडेन्सिटी प्रविधिमार्फत स्याउ फलाएको पाँच वर्ष भइसकेको छ।  
   

सुझावित समाचार