एमाले महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि

शुक्रबार, १२ कार्तिक, २०७८
डिजिटल संस्करण

सात लाख २१ हजार मतदाता, एक सय ६५ निर्वाचन क्षेत्रबाट ११ सय ९६ प्रतिनिधि चुनिने, ३३ प्रतिशत महिलासहित ५१ प्रतिशत समावेशी प्रतिनिधि

एमालेको दशौँ महाधिवेशनमा एक हजार ५ सय ३६ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । स्थायी समितिको बिहीबारको बैठकले आगामी १० देखि १२ मंसिरसम्म चितवनमा हुने महाधिवेशनमा सात लाख २१ हजार पार्टी सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने मापदण्ड प्रस्ताव गर्दै संख्या तय गरेको हो । 

शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा एमालेले महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी मापदण्डमाथि थप छलफल गर्दै छ । बैठकपछि सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले महाधिवेशनमा तीनखाले प्रतिनिधिमध्ये केन्द्रीय कमिटी सदस्य, केन्द्रीय आयोग र केन्द्रीय सल्लाहकारहरूबाट दुई सय ६२ जना पदेन प्रतिनिधि तथा भूगोलबाट ११ सय ९६ जना प्रतिनिधि सहभागी हुनेछन् ।

त्यस्तै, प्रत्येक जनसंगठनबाट पाँच÷पाँचजना, पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालयलाई एउटा निर्वाचन क्षेत्र मानेर दुईजना खुला र एक महिलासहित तीनजना, प्रवास क्षेत्रबाट २० जना महाधिवेशन प्रतिनिधिलाई सहभागी गराउने निर्णय भएको ज्ञवालीले जानकारी दिए । भूगोलबाट सहभागी हुने ११ सय ९६ प्रतिनिधिमध्ये प्रत्येक निर्वाचन क्षेत्रबाट १५ सय सदस्यबराबर एकजना महिला र दुईजना खुलासहित गरेर तीनजना तथा १५ सयभन्दा बढी सदस्य रहेको निर्वाचन क्षेत्रमा एक हजार सदस्य बढ्दै जाँदा थप एकजना थपिने गरी प्रतिनिधि छनोट हुनेछन् । त्यस्तै, कुल निर्वाचित प्रतिनिधिमध्येबाट ५ प्रतिशत मनोनीत हुनेछन् ।

छानिएका १५ सय ३६ प्रतिनिधिमध्ये ५१ प्रतिशत प्रतिनिधि संख्या समावेशी हुने प्रवक्ता ज्ञवालीले बताए । जसअनुसार ३३ प्रतिशत महिला प्रतिनिधिका अतिरिक्त आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र दलितसहितको क्लस्टरबाट प्रतिनिधि छानिनेछन् । हरेक जिल्लाबाट एकजना दलित र हरेक प्रदेशलाई एउटा निर्वाचन क्षेत्र मानेर मजदुर क्षेत्रका पार्टी सदस्यबाट पनि प्रतिनिधि छनोट हुनेछन् । बाँकी ४९ प्रतिशत खुला क्षेत्रबाट प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।

नारायणी नदीकिनारमा उद्घाटन सभा, सौराहामा बन्दसत्र
बैठकमा महाधिवेशन तयारी मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशन तयारीका प्रारम्भिक कामबारे जानकारी गराएका थिए । उनले नारायणी नदीकिनारको खुला चौरमा उद्घाटन सभा गर्ने र सौराहाको पयर्टकीय स्थलमा बन्दसत्र आयोजना गर्ने प्रस्ताव गरेका छन् । एमालेले महाधिवेशनको उद्घाटन कार्यक्रममा करिब पाँच लाख जनसमुदाय जुटाउने गरी तयारी अगाडि बढाएको छ । 

एमालेको दशौँ महाधिवेशनका लागि चुनिएका प्रतिनिधिले राष्ट्रिय महाधिवेशन प्रतिनिधिका रूपमा एघारौँ महाधिवेशनअगावै सम्पन्न हुने विधान महाधिवेशनमा पनि सहभागी भएर पार्टीको राजनीतिक र संगठनात्मक प्रतिवेदन तथा विधान पारित गर्नेछन् । पार्टीको विचार, कार्यदिशा र विधान पास गरिसकेर आयोजना हुन लागेको महाधिवेशनमा एमालेले व्यवस्थापकीय पक्षलाई ध्यानमा राखेर पहिलेभन्दा धेरै कम प्रतिनिधि सहभागी गराउने तयारी गरेको छ । नवौँ महाधिवेशनमा २१ सय तथा हालै सम्पन्न प्रथम विधान महाधिवेशनमा ६ हजार तीन सय प्रतिनिधि सहभागी भएका थिए । 
 

See More On

सुझावित समाचार