गठबन्धनको सरकार चुनावसम्म टिक्दैन : पृथ्वीसुब्बा गुरुङ

बुधबार, १० कार्तिक, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले अहिलेको सत्तागठबन्धन चुनावसम्म नटिक्ने बताएका छन्। बुधबार प्रेस चौतारी नेपालले लमजुङको बेंसीसहरमा आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा नेता गुरुङले  यस्तो बताएका हुन्।

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका गुरुङले भने, ‘एमालेले गरेका राम्रा कामविरुद्ध गठबन्धन बनेको हो।’ अहिले अवसरवादको खेती गर्ने शक्ति एकजुट भएको र एमालेले अघि सारेको राजनीतिक स्थायित्व, आर्थिक विकास, समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताजस्ता राम्रा काम रोक्ने उद्देश्यले गठबन्धन बनेको गुरुङले आरोप लगाए ।

उनले आफ्नै पार्टीको सरकार हटाउनेहरूले अक्षम्य अपराध गरेको टिप्पणी गरे। ‘आफ्नै पार्टीको प्रधानमन्त्रीलाई हटाउने, अदालतमा मुद्दा हाल्ने, अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन सहयोग गर्नेहरूको भलो हुँदैन,’ उनले भने, ‘त्यस्ता व्यक्तिलाई पार्टीको आगामी महाधिवेशनले किनारा लगाउँछ।’

अर्को प्रसंगमा नेता गुरुङले आफ्नो नेतृत्वको सरकारले अघि बढाएको महत्वपूर्ण योजना वर्तमान सरकारले खारेज गरेर देश र जनताको उपलब्धि हुन नदिएको आरोपसमेत  लगाए।

सुझावित समाचार