इमर्जेन्सीका वार्ड दुर्घटनाका घाइतेले भरिए, तर डाक्टर दुई घन्टापछि आए

सोमबार, ८ कार्तिक, २०७८
डिजिटल संस्करण

दाङको तुलसीपुरमा आइतबार अपराह्न ५ बजेतिर यात्रुबाहक बस दुर्घटनामा पर्‍यो । दुर्घटनामा घाइते भएका २१ जनालाई लगत्तै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगियो । घाइतेले इमर्जेन्सीका वार्ड भरियो । तर, समयमा डाक्टर आएनन् । ‘दुर्घटना भएलगत्तै डाक्टरलाई फोन गरिएको थियो,’ अस्पतालका एक कर्मचारीले भने, ‘अस्पतालले क्वार्टर दिएको छ, यो भनेको इमर्जेन्सी अवस्थामा जतिवेला पनि डाक्टर हाजिर हुनका लागि हो, तर एक–दुई घन्टापछि मात्रै डाक्टर देखिनुभयो, निकै समस्या पर्‍यो ।’ अस्पतालमा अहिले आठ–नाैजना कन्सलटेन्सी डाक्टर भए पनि अप्ठ्यारो पर्दा समयमा नआउने गरेको उनको गुनासो थियो ।  

अस्पतालको समीक्षा कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले डाक्टरहरू समयमा नआउँदा अस्पतालले बदनाम खेप्नुपरेको गुनासो गरेका थिए । त्यसको केही समयपछि भएको उक्त दुर्घटनाको उपचारका लागि डाक्टर नआउनुले पनि त्यो कुराको पुष्टि गरेको छ । दुर्घटनामा दुईजना गर्भवती महिला पनि घाइते भएका थिए । उनीहरूको भिडियो एक्स–रे गर्नुपर्ने भयो । तर, अस्पतालमा लामो समयदेखि दरबन्दीमा रहेका रेडियोलोजिस्ट डाक्टर आएका छैनन् । एकजना दरबन्दीका रेडियोलोजिस्ट डा. रामेश्वर देवकोटा छन् ।

कोभिड अस्पताल बेलझुन्डीमा उनको दरबन्दी भएपछि उनी कोभिड अस्पताल थिए । तर, अहिले प्रादेशक अस्पतालमै कोभिड अस्पताल आइसकेपछि अस्पतालमा आउनुपर्ने भए पनि नियमित नरहेको अस्पताल स्रोतले बताएको छ । ‘उहाँको दरबन्दी पहिले प्रादेशिक अस्पतालअन्तर्गत रहेको बेलझुन्डी कोरोना विशेष अस्पतालमा थियो,’ उनले भने, ‘तर, अहिले कोरोना अस्पताल प्रादेशिकमै आइसक्दा नियमित हुनुपर्ने हो, तर अहिलेसम्म नियमित आएको देखिँदैन ।’ अस्पतालमा अर्का एकजना रेडियोलोजिस्ट डा. सरोज पौडेल करारमा थिए । तर, उनको गएको शुक्रबार मात्रै करार अवधि सकियो । 

रेडियोलोजिस्ट नभएपछि अस्पतालमा घाइतेहरूलाई नै उद्धार गरेर पुगेका राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा ‘अपार’को अनुरोधमा फ्याम्ली फिजिसियन डा. सर्वेश शर्मालाई बोलाएर ती दुईजना गर्भवती र अर्का एकजना गरी तीनजनाकोे भिडियो एक्सरे गरिएको हो । ‘खासमा रेडियोलोजिस्टले भिडियो एक्सरे गर्नुपर्थ्याे,’ ती कर्मचारीले भने, ‘तर, रेडियोलोजिस्ट नभएपछि डा. सर्वेशले नै भिडियो एक्सरे गरियो ।’ 

 चालकको बयान : अगाडि खाल्डो थियो, त्यही जोगाउन खोज्दा पल्टियो 
खाल्डोलाई जोगाउन खोज्दा तुलसीपुरमा बस दुर्घटना भएको चालकले प्रहरीसमक्ष बयान दिएका छन् । आइतबार ५ बजेतिर घोराहीबाट तुलसीपुर आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको थियो । ‘पिच सकिँदै थियो, अगाडि खाल्डो परेको थियो, त्यही खाल्डोलाई जोगाउन खोज्दा गाडी पल्टियो,’ चालकले दिएको बयानबारे जानकारी दिँदै इप्रका तुलसीपुरका प्रहरी नाउब उपरीक्षक श्यामु अर्यालले भने । त्यही स्थानमा यसअघि पनि गाडी दुर्घटनामा परेको थियो । अहिले चार लेन मर्मत कार्य भइरहेको छ । मर्मत गर्दा सडकमा  खाल्डाखुल्डी छन्, त्यसले पनि दुर्घटना बढाएको छ । 

सोही दुर्घटनामा सहचालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घोराही उपमहानगरपालिका– १० का २८ वर्षीय प्रेम परियारको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका परियारलाई राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।  ना.६ख ७६३३ नम्बरको गाडी दुर्घटनामा परी घाइते २१ जना मध्ये चारजना डिस्चार्ज भइसकेका छन् । अन्यको अवस्थामा पनि सामान्य रहेको प्रहरीले बताएको छ । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।  

सुझावित समाचार