- पूर्वमा मोरङ, सुनसरी र सुदूरपश्चिममा बझाङ, बाजुरा, डोटी, दार्जुलामा विद्युत् आपूर्ति बन्द
- शुक्रबारसम्ममा सबै ठाउँमा विद्युत् सुचारु हुने अनुमान, अस्पताल र अत्यावश्यक सेवालाई प्राथमिकता
देशका अधिकांश ठाउँमा सोमबारदेखि परिरहेको अविरल वर्षाका कारण दुई सय मेगावाट विद्युत् प्रणालीबाट विच्छेद भएको छ । यसले प्रदेश १ का मोरङ, सुनसरी र सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, डोटी, दार्जुला, डडेल्धुरा, बैतडीलगायतका जिल्लामा विद्युत् आपूर्ति बन्द रहेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले जानकारी दिए । सुदूरपश्चिममा अत्तरियाबाट डडेल्धुरा जाने १३२ केभी लाइनमा रूखहरू लडेर अवरुद्ध भएको छ । त्यस्तै, प्रदेश १ का जिल्लाहरूमा विद्युत् आपूर्ति गर्ने सुनसरीको दुहबीस्थित सबस्टेसन डुबानमा परेको छ ।
दुहबी सबस्टेसन बन्द हुँदा काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि बन्द छ । यसबाट काबेली करिडोरमा जोडिएको १७० मेगावाटका जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन पनि बन्द भएको छ । त्यस्तै, विभिन्न स्थानमा रूख ढल्दा अत्तरिया–चमेलिया १३२ केभी प्रसारण लाइन र अन्य ३३ तथा ११ केभी लाइनमा क्षति पुगेको छ । यसबाट दार्चुलामा सञ्चालन रहेको ३० मेगावाटको चमेलियालगायतका जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत बन्द भएको छ ।
अन्य जिल्लामा पनि रूख ढलेर तथा पोलमा असर पर्दा विद्युत् प्रणालीमा असर परेको छ । ‘सबैतिरको सबै विवरण भने प्राप्त भइसकेको छैन’ प्रवक्ता भट्टराईले भने । प्राधिकरणले सुदूरपश्चिमका जिल्लामा भएको अवरोधलाई बुधबार बेलुका वा बिहीबार बिहानसम्ममा सुचारु गरिसक्ने योजना छ । त्यस्तै, पूर्वतिर भने शुक्रबार बिहानसम्म लाग्न सक्ने उनको भनाइ छ ।
अत्यावश्यक सेवालाई उच्च प्राथमिकता
प्राधिकरणले सबैभन्दा पहिले अस्पताल र स्वास्थ्य केन्द्रहरूमा विद्युत् पुर्याउन उच्च प्राथमिकतामा राखेको छ । ‘त्यसबाहेक अन्य अत्यावश्यक सेवा सुचारु गर्नतर्फ पनि उत्तिकै प्राथमिकता दिइरहेका छौँ’ प्रवक्ता भट्टराईले भने ।
इनरुवा सबस्टेसन डुबानमा, ‘कम्पाउन्ड वाल’ बगायो, उपकरणहरूमा क्षति
अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सबस्टेसनमा पस्दा ठूलो क्षति पुगेको छ । आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी सञ्चालन गर्ने (चार्ज) लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको थियो ।
बाढीले सबस्टेसनको कम्पाउन्ड वाल बगाएको छ । जडानका लागि राखिएका उपकरणहरू डुबेका छन् । बाढीले केही उपकरणहरू बगाएको र कार्यालय भवनसमेत डुबानमा परेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङले जानकारी दिए । ‘अहिले सबस्टेसनभित्र खोला बगिरहेकाले क्षति पु¥याइरहेको छ, सबस्टेसन तालमा परिणत भएको छ, जान सक्ने अवस्था छैन, त्यहाँ रहेका कर्मचारी र श्रमिकहरूलाई सुरक्षाकर्मीको सहयोगमा डुंगामार्फत सुरक्षित स्थानमा सारिएको छ’ घिसिङले भने ।
४०० केभी र २२०/१३२/३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । ट्रान्सफर्मर, रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरणहरू निर्माणस्थलमा ल्याइसकिएको थियो । बाढीका कारण सबै डुबानमा परेकाले उपकरणहरूमा क्षति पुगेको छ । अहिले सबस्टेसनभित्रको पानी हटाएर उपभोक्तालाई जतिसक्दो छिटो विद्युत् आपूर्ति उपलब्ध गराउन हाम्रो टिम प्रयासरत रहेको प्रवक्ता भट्टराईले बताए ।
देशभर आठ ठाउँमा राजमार्ग अवरोध, एकतर्फी सडक सञ्चालन १३४ ठाउँबाट हुँदै

बुधबार साँझसम्ममा देशका आठ ठाउँमा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । डुम्रे बेँसीसहर–चामे सडक तीन ठाउँमा अवरुद्ध भएको छ । मनाङको निगालाघारी, खोत्रो र दानाक्युमा अवरुद्ध भएको छ । यी तीनै ठाउँमा एक्साभेटर परिचालन गरिएको छ । तर, निरन्तरको वर्षाले काम गर्न सकिएको छैन ।
त्यस्तै, खोड्पे चैनपुर सडकको बझाङ खण्डस्थित जालीबगर र नारुघाटमा अवरुद्ध भएको छ । यस खण्डमा भने सडक नै बगाएको छ । सतबाँझ थाकतोली दार्चुला टिंकर सडकको दार्जुलास्थित किम्तडी भन्ने ठाउँमा पनि सडक बगाउँदा यातायात अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको ओखलढुंगास्थित हिलेपानी जयरामधाट हलेसी खण्ड र सिन्धुलीको खुर्कोट घुर्मी खण्डको अक्करे भिर र सोलु खोलामा अवरुद्ध भएको छ ।
सुर्खेत तल्लो डुंगेश्वर–सात खम्बा–डुल्लु–पिपलकोट–खुलाल–मान्मा–नाग्मा–जुम्ला सडक अवरुद्ध भएको छ । राष्ट्रिय राजमार्गमा पर्ने यो सडकको कालिकोट जिल्लाको हुल्म, सेरिघाट, मोल्फा, पिली र राँचुलीमा अवरुद्ध भएको हो ।
अन्य ठाउँहरूमा ससाना पहिरो आई अवरुद्ध भएको, तर पिलीनजिक ठूलो ढुंगा आई अवरुद्ध भएको हुँदा तत्काल ब्रेकर परिचान गर्न अपरेटर उपलब्ध नहुँदा विस्फोटक पदार्थ प्रयोग गरी खुलाउने विषयमा सुरक्षा निकायसँग समन्वय भइरहेको इन्जिनियर सन्तोष भण्डारीले जानकारी दिए ।
मंगलबार अवरुद्ध भएको कोसी राजमार्गको धनकुटास्थित लेउती खोलामा ४० मिटर सडक कटान भएको छ । तर, अहिले एकतर्फी रूपमा सडक सञ्चालन भइरहेको आयोजनाका कार्यलयले जानकारी दिएको छ । त्यस्तै, राप्ती राजमार्गको सल्यानस्थित अरिग्लेफेदीमा पनि अहिले एकतर्फी सडक सञ्चालनमा आएको छ । कपुरकोट गाँउपालिकामा पहिरो जाँदा अवरुद्ध भएको सडकमा अहिले ब्याकहो लोडर प्रयोग गरेर सफा गर्ने काम भइरहेको छ ।