विश्वभर कसरी आपूर्ति अभाव आयो ?

सोमबार, १ कार्तिक, २०७८
डिजिटल संस्करण

अहिलेको सबैभन्दा जल्दोबल्दो आवश्यकता स्थिरता पुनर्बहाली गर्ने र उत्पादन अभाव सहज बनाउने हो


सन् २००८ मा विश्वले विध्वंसकारी वित्तीय संकट सामना गर्यो । तर, त्यो विपद् आउनुअघि थोरैले मात्र यसको पूर्वानुमान गरेका थिए । त्यस्तो पूर्वानुमान गर्ने थोरै अर्थशास्त्रीमध्ये एक थिए, रघुराम जी. राजन । भारतीय रिजर्भ बैंकका पूर्वगभर्नर रहिसकेका राजनले सन् २००५ को एक चर्चित भाषणमा स्पष्ट रूपमा भविष्यमा वित्तीय संकट आउन सक्ने चेतावनी दिएका थिए । भाषणमा राजनले प्रणालीगत तथा प्राविधिक परिवर्तनपछि सैद्धान्तिक रूपमा वित्तीय प्रणालीको जोखिम छरिएको देखिने भए पनि यथार्थ यसले जोखिमलाई केन्द्रीकृत गर्ने बताएका थिए । त्यसवेला उक्त विचारका लागि धेरैले राजनको मजाक उडाए । अमेरिकाका वित्तमन्त्री ल्यारी सुमारले उनलाई नयाँ विचार स्विकार्न नसक्ने ‘लडाइट’ समेत भने । 
अहिले विश्वभर सप्लाई चेनमा समस्या आउन थालेको अवस्थामा मलाई त्यो प्रसंग उल्लेख गर्न उपयुक्त लाग्यो ।

सप्लाई चेनमा आएको समस्याले ग्यास, ट्रक ड्राइभर, कार्बनडाइअक्साइड, खेलौना, फर्निचर, आइफोन, कम्प्युटर चिप्स र अन्य धेरै उत्पादन प्रभावित भएको छ । विश्व अर्थतन्त्र कोभिड–१९ महामारीको प्रभावबाट उठ्न लाग्दा यो आपूर्ति समस्या अल्पकालीन मात्र रहला ? कि हामी विश्वव्यापी उत्पादन प्रणालीको दुर्घटनातर्फ उन्मुख छौँ ? दोस्रो सन्दर्भ सही देखियो भने त्यसलाई ठीक पार्न कस्तो हस्तक्षेप आवश्यक होला ? सन् २००८ मा विश्वव्यापी वित्तीय संकटलाई सम्बोधन गर्नका लागि प्रमुख केन्द्रीय बैंकहरूले हस्तक्षेप गर्नुपरेको थियो । आपूर्ति अभावलाई ठीक पार्ने यस्तो खालको हस्तक्षेप के होला ? 

आजको आपूर्ति समस्या र सन् २००८ को वित्तीय संकटबीच धेरै कुरा समान छन् । दुवै संकट सुरु हुनुअघि विकेन्द्रित बजार बलियो हुने धारणा व्याप्त थियो । विकेन्द्रित बजारले वित्तीय संकटलाई कम गर्छ भन्ने धारणा हिजो र आज उत्तिकै हावी छ । तर, व्यवहारमा त्यस्तो देखिँदैन । उदाहरणका लागि, ऊर्जा क्षेत्र राष्ट्रिय आत्मनिर्भरताबाट विश्व बजारमा निर्भरता हुने मार्गमा अघि बढिरहेको छ । 

युरोपेली संघले सन् २००८ मा ‘उदारीकरण’को प्रक्रिया सुरु गर्यो । त्यसले संघको सम्पूर्ण बजारमा ग्यास तथा बिजुलीमा नयाँ प्रतिस्पर्धा खुला गर्यो । केहीले आपूर्तिको सुरक्षामाथि प्रश्न नउठाएको होइन । तर, नीतिनिर्माताले युरोपेली अर्थतन्त्रमा विदेशी ऊर्जा आयात खुला गर्ने विधेयक पारित गरे । 

तर, अधिकांश विश्लेषक र नीतिनिर्माताले ग्यास तथा अन्य उपभोग्य उत्पादनको विश्वव्यापी बजार सीमित विक्रेताको हातमा पुग्नेछ भन्ने अनुमान गर्न सकेनन् । तथाकथित उदारीकरणबाट हुने आपूर्तिको विविधीकरण कैयौँ अवस्थामा गलत ठहरिएको छ । सेमिकन्डक्टर होस् कि खाद्य प्रोसेसिङमा प्रयोग हुने कार्बनडाइअक्साइडको व्यवसाय, आपूर्ति विकेन्द्रित हुनुको साटो केन्द्रीकृत हुँदै गएको छ । विगत केही दशकदेखि विश्वव्यापी उत्पादन चेन थप विशिष्टीकृत रूपमा विखण्डित हुँदै थियो । त्यसले गर्दा हाल मल, खाद्यान्न, सेमिकन्डक्टर र कारजस्ता विभिन्न उद्योगमा एकैपटक आपूर्ति समस्या निम्तिन पुग्यो । 

विश्वमा अहिले देखिएको उत्पादन अभाव अल्पकालीन समस्या मात्र हो कि विश्वव्यापी उत्पादनमा देखिएको दुर्घटना हो, अहिले नै भन्न सकिने अवस्था छैन । तर, आज देखिएको आपूर्ति अभावका धेरै कुरा सन् २००८ को विश्वव्यापी वित्तीय संकटसँग मिल्छ । सम्भवतः यसको समाधानका लागि उस्तै साहसी कदम आवश्यक हुन सक्छ । 

त्यसका अतिरिक्त केही अभावले सप्लाई चेनका सेतुलाई जोड्ने लजिस्टिकलाई प्रत्यक्ष प्रभावित बनाउँछ । जस्तो, बेलायतमा ट्रकड्राइभर, ढुवानी कन्टेनरको अभाव हुँदा पेट्रोलियम पदार्थको अभाव भएको छ । परिणामस्वरूप कमजोरी स्वतः वृद्धि भइरहेको छ । विश्वव्यापी उत्पादन प्रणाली उच्च विशिष्टीकरण हुँदा सहज अवस्थामा उल्लेख्य फाइदा हुन्छ, तर यसका कमजोरी विगतमा भन्दा धेरै हुँदै गएको छ । 

त्यसो भए नीतिनिर्माताले यो प्रणालीगत कमजोरीलाई कसरी सोचविचार गर्नुपर्छ ? यसको प्रतिरोध कसरी गर्न सकिन्छ ? नर्थवेस्टर्न युनिभर्सिटीका बेन्जामिन गोलुवले ‘क्विइङ थिएरी’ नामक सिद्धान्तले राम्ररी काम गरिरहेको प्रणालीमा आउन सक्ने सानो परिवर्तनले पर्खनुपर्ने समय बढाउने देखाएका छन् । जस्तो, सुपरमार्केटमा बिल काट्ने लेन दुईवटाबाट एउटा बनाउँदा पैसा तिर्न पर्खिनेले धेरै समय पर्खनुपर्छ । त्यसको उल्टो प्रणालीमा सानो कुरा थप्दा त्यसको सबलता वृद्धि हुन्छ । त्यसैगरी, परम्परागत ‘कबवेज मोडेल’ले समयअन्तरालले कसरी बजार अस्थिरता बढाउँछ र माग तथा पूर्तिमा ठूलो उतारचढाव ल्याउँछ भनेर देखाउँछ । 

मूल्य सूचकमा आपूर्तिभन्दा माग कम संवेदनशील रह्यो भने भविष्यसम्बन्धी अपेक्षा गलत ठहरिनेछ । त्यस अवस्थामा आपूर्तिको तत्परतामा हुने ढिलाइले अस्थिरता निम्त्याउनेछ । डब्लू ब्रायन अर्थरको चर्चित ‘एल फ्यारोल बार प्रोब्लेम’ले लामो समयमा गरिने निर्णय र अपेक्षा निर्माण गर्ने आवश्यकता जोडेर हेर्छ । यसले उस्तै अस्थिर प्रतिफल दिन्छ । म्याक्किन्से एन्ड कम्पनीमा आबद्ध टेरा अलासले औँल्याए जस्तै प्रणालीगत गतिशीलता सप्लाई चेनलाई जटिल र वक्ररेखीय गतिशील प्रणाली हो भन्ने पार्ने गरी आविष्कार भएको थियो । 

वर्तमान आपूर्ति समस्यालाई बुझ्न सघाउने धेरै सैद्धान्तिक मोडेलहरू छन् । अहिलेको सबैभन्दा जल्दोबल्दो समस्या स्थिरता कसरी पुनर्बहाली गर्ने र उपभोक्ताले भोगिरहेको उत्पादन अभाव सहज बनाउने हो । पश्चिममा चलिरहेको बिदाको मौसममा धेरैले खेलौना, खाद्यान्न र ग्यास पाउन सकिरहेका छैनन् । सरकारले उन्नत तथ्यांक र व्यावसायिक सूचना वहाव उच्च प्राथमिकतामा राख्नुपर्छ । भूमण्डलीकरणको झन्डै ३० वर्षपछि पनि विश्वव्यापी सप्लाई चेनमा हुने उत्पादन वहावसम्बन्धी विस्तृत र सार्वजनिक रूपमा उपलब्ध सूचना छैन ।

विगतमा औद्योगिक नीतिलाई प्रमुख सरकारी नीति स्विकारिँदाको समयमा इन्जिनियरिङमा आधारित औद्योगिक सूचना राखिन्थ्यो । सरकारका मन्त्रालयले आपूर्ति चेनबारे त्यस्तै सूचना कायम राख्न आवश्यक छ । तर, छोटो अवधिका लागि विकेन्द्रित बजार र मूल्य संकेत समस्या हो, समाधान होइन । सरकारले अग्रसरता लिएर अहिलेको अभावलाई कम गर्ने प्रयास गर्नुपर्छ । आवश्यक पर्दा पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर चलाउन सेना परिचालन गर्नेदेखि उत्पादनमा अनुदान दिनेसम्म गर्न सक्छ ।

ब तत्कालीन आपूर्ति समस्या कम हुन्छ, तब फर्म तथा नीतिनिर्माताले दीर्घकालीन रूपमा निर्माण गर्नुपर्ने बिमा वा अन्य उपाय अवलम्बन गर्न सक्छन्, जसले विश्वव्यापी उत्पादन प्रणालीलाई सघाउ पुर्याओस् । सन् २००८ पछि जसरी बैंकहरूले ‘इक्विटी बफर’ बढाउन थाले, त्यसैगरी अहिलेको समस्याले पनि उत्पादन प्रणालीलाई पुनःपरिभाषित गर्न सक्नुपर्छ । त्यसो भए भविष्यमा सप्लाई चेनमा जोखिम आउने सम्भावना कम हुन्छ । 

सुझावित समाचार