प्रसूति सेवालाई सहज बनाउन दोर्दीमा ‘आमाघर’ निर्माण

मंगलबार, १९ असोज, २०७८
डिजिटल संस्करण

लमजुङको दोर्दी गाउँपालिका–८ मा रहेको बन्सार स्वास्थ्य चौकीमा ‘आमाघर’ निर्माण गरिएको छ । प्रसूति सेवाका लागि स्वास्थ्य चौकीसम्म आउने महिलाहरूको सहजताका लागि ‘आमाघर’ निर्माण गरिएको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले जानकारी दिए ।

‘आमाघर’को नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै गुरुङले नागरिकलाई सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु राज्यको दायित्व भएको बताए । संसद् विकास कोषको १० लाखको लागतमा बन्सारमा २ कोठे आमा घर निर्माण गरिएको हो । 

स्वास्थ्य चौकीनजिकै ‘आमाघर’ रहेकाले सुत्केरी महिला र बच्चामा स्वास्थ्य समस्या भइहालेमा उपचारमा सहज हुने अपेक्षा गरिएको छ । आमा घरमा खान, बस्न निःशुल्क गरिएको छ । गाउँपालिका क्षेत्रमा घरमै हुने सुत्केरी दर न्यूनीकरणका लागि गाउँपालिकामा गत वर्षदेखि ‘हेलो आमा’ कार्यक्रमसमेत सञ्चालन  गरिएको छ ।

दोर्दी गाउँपालिका स्वास्थ्य शाखाका अनुसार गाउँपालिकामा आर्थिक वर्ष ०७६/७७ मा घरमै सुत्केरी हुने महिलाको संख्या ५० रहेको छ । याे कार्यक्रम लागू भएपछि गत वर्ष ०७७/७८ मा संस्थागत रूपमा सुत्केरी हुनेको संख्या बढ्दै गएको छ । गत वर्ष घरमै सुत्केरी हुने महिलाको संख्या ३० रहेको छ भने संस्थागत रूपमा सुत्केरी हुनेको संख्या ३४ रहेको छ ।

गाउँपालिकामा घरमै हुने सुत्केरी (होम डेलिभरी)लाई न्यूनीकरण गर्दै केही वर्षमै ‘होम डेलिभरी’लाई शून्यमा झार्ने लक्ष्यका साथ यस कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिका अध्यक्ष गुरुङले बताए ।

See More On

सुझावित समाचार