‘अवैधानिक आप्रवासी’ शब्दावलीले विशेषतः बंगाली मुसलमान समुदायलाई अमानवीकरण गरिदिएको छ । नतिजा आसामका बंगाली मुसलमानलाई राज्यबाट निकालिनुपर्ने ‘घुसपैठिया’का रूपमा हेर्ने गरिन्छ ।
गत साता आसामको सिपाझारमा भाइरल भएको एउटा भिडियोमा एक फोटोग्राफर भुइँमा ढलेको रक्तरञ्जित गतिहीन शरीरमाथि मच्चिरहेका थिए । ती फोटोग्राफर विजोय बनिया हुन् र उनी प्रहरीको साथमा थिए । बनियालाई दरंग जिल्ला प्रशासनले सिपाझारमा भइरहेको ‘घुसपैठिया’ बेदखल प्रक्रियाको फोटो खिच्न लगाएको थियो । भुइँमा गतिहीन भएर ढलेका व्यक्ति ३३ वर्षीय मोइनुल हक थिए । भिडियोको सुरुवाती केही सेकेन्डसम्म उनी लाठी लिएर हतियारधारी प्रहरीनजिक दौडिरहेका थिए । यसैबीच गोली चल्यो, मोइनुल ढले र मारिए । मोइनुल मारिनुअगाडि उनीलगायत बंगाली मूलका मुसलमानलाई विस्थापन गर्ने सूचना जारी गरिएको थियो । सूचनाअनुसार उनीहरूले आसाम राज्यले आदिवासी मान्ने मानिसका लागि अग्र्यानिक खेतीका लागि आफ्नो भूमि त्याग्नुपर्थ्यो ।
आसाम र अन्यत्रका थुप्रै मानिसले सो भिडियो हेरे र बनियाको अमानवीयता देखेर स्तब्ध भए । एक मृत वा मर्न लागेको मानिसको शरीरमाथि मच्चिने क्रूर हिंसालाई प्रेरित गर्ने यो कस्तो घृणा हो ? यस्तो घृणा कहाँबाट आउँछ ? वास्तवमा यो अपराध वा घृणा बनियाको मात्रै होइन । आसाममा दशकौँ लामो राजनीतिको दुष्परिणाम हो सिपाझार हत्या । यस घटनालाई नतिजामा पुर्र्याउने काम आसाम सरकारको आदिवासी हितका नाममा तथाकथित विदेशीको लखेटाइको उन्मादले जन्माएको हो । भारतबाट ‘अवैधानिक आप्रवासी’ निकाल्ने उद्देश्यले बनाइएको नागरिक अभिलेख नेसनल रेजिस्टर अफ सिटिजन्सदेखि सीमा प्रहरीले चलाउने गैरन्यायिक अदालतका माध्यमबाट यो र यसअघिका सरकारले बंगाली मुसलमानलाई लखेट्दै आएका छन् । लखेटाइको यो पागलपनले राज्यको जनसंख्याको एक हिस्सालाई सदैव आतंकमा बाँच्न बाध्य बनाएको छ ।

आसामको राजनीतिले एक विषाक्त शब्दलाई सतहमा ल्याइदिएको छ । ‘आप्रवासी’ शब्दका अगाडि सधैँका लागि ‘अवैधानिक’ शब्द जोडिदिएको छ । ‘अवैधानिक आप्रवासी’ शब्दावलीले विशेषतः बंगाली मुसलमान समुदायलाई अमानवीकरण गरिदिएको छ । नतिजा आसामका बंगाली मुसलमानलाई राज्यबाट निकालिनुपर्ने ‘घुसपैठिया’का रूपमा हेर्ने गरिन्छ । घुसपैठिया भाष्य अहिले राज्यको दायराबाहिर पुगिसकेको छ र यो भाष्य सन् २०१९ को चुनावताका संघीय गृहमन्त्री अमित शाहले बंगलादेशबाट आएका आप्रवासीलाई ‘धमिरा’को संज्ञा दिएपछि थप विषाक्त बनेको छ । आसाममा चलिरहेको पुरानो जातीय द्वन्द्वमा राज्य प्रायोजित हिन्दुत्वको द्वेष पनि थपिएको छ । सन् २०१६ मा आदिवासी जनताको हित गर्ने वाचासहित भारतीय जनता पार्टी (भाजपा) आसामको सत्तामा उदायो । यद्यपि, भाजपा उदाउँदाको बखत आदिवासी जनता भनेको आसामका गैर–मुसलमान समुदाय हुन् भन्ने स्पष्ट भइसकेको थिएन । तर, जब नागरिकता विधेयक लागू भयो, त्यसले दस्ताबेज नभएका बंगाली हिन्दू आप्रवासीलाई भारतीय नागरिकताको सुनिश्चितता गराइयो र मुसलमान आप्रवासीलाई छुटाइयो, तब आसाममा सबै गैरमुसलमान आदिवासी हुन् भन्ने भाष्य बलियो बन्यो ।
आसाममा भाजपाको दोस्रो कार्यकाल लागू हुँदा भाजपाको साम्प्रदायिक एजेन्डा झन् मुखरित भएर आयो । मुख्यमन्त्री हेमन्त विश्व शर्माले आफूलाई आसामको हित गर्ने हिन्दू राष्ट्रवादीका रूपमा उभ्याए । यो वर्ष भएको चुनाव अभियानमा उनले खुलेरै ‘सभ्यताको युद्ध’ भइरहेको र आसामलाई बंगाली मुसलमानबाट जोगाउनुपर्ने साम्प्रदायिक नारा उछाले । शर्माको सरकारले गौहत्याविरुद्ध कडा कानुन ल्यायो । त्यति मात्रै होइन, मुसलमानले हिन्दू महिलालाई विवाह गरेर धर्मान्तरण गर्ने कार्यलाई ‘लव जिहाद’को भाष्य देखाएर अन्तरधार्मिक विवाहमा बाधा व्यवधान उत्पन्न गराउने कानुन ल्याइयो । यो कानुनले ‘आदिवासी’ र ‘आप्रवासी’ मुसलमानको भिन्नतालाई समेत नामेट पारिदियो । शर्माको यो कानुन निर्माणलाई मिडियामा ‘निपूणता’पूर्वक काम गरेको भनेर प्रचारबाजी भयो । मिडिया प्रचारका कारण शर्मालाई राज्यका अल्पसंख्यकमाथि ज्यादती गर्न सजिलो भयो । शर्माले दोस्रो कार्यकाल सम्हालेलगत्तै आदिवासीका लागि ७७ हजार बिघा जमिन छुट्याउने निर्णय गरे । छुट्याइएको अधिकांशमा जग्गामा गरिब बंगाली मूलका मुसलमान बसिरहेका थिए । यसअघि ‘अवैधानिक आप्रवासी’ करार गरिएका मुसलमान अब ‘अवैधानिक घुसपैठिया’ बन्न पुगे अर्थात् उनीहरूको जिउज्यान र घर मास्न मिल्ने बनाइयो । आसामका मुख्यमन्त्री शर्माले सिपाझारको भिडियो सतहमा आउँदा पनि ‘घुसपैठिया’ बेदखल गर्ने काम नरोकिने बताएका छन् । सिपाझारमा भएको हिंसामा उनको भन्नु केही छैन । विजोय बनियाको चरम घृणा राज्य प्रायोजित देखिन्छ ।
बनिया अहिले गिरफ्तार भइसकेका छन्, यद्यपि गिरफ्तारीले बनिया प्रहरीसँगै थिए भन्ने तथ्यलाई गलत साबित गर्दैन । सिपाझारमा ठ्याक्कै के भएको हो भन्ने खुलिसकेको छैन, तथापि लाठी बोकेका युवाबाट हतियारबाट सुसज्जित प्रहरीलाई आत्मरक्षाका लागि गोली चलाउनुपर्ने बाध्यता कहीँ देखिन्न । सिपाझार मात्रै होइन, प्रहरी हिंसा आसामकै लागि महामारी बनेको छ । आसाममा आमजनतामाथि प्रहरी हिंसा लाद्ने कुरूप इतिहास स्थापित छ । इतिहासको पुनरावृत्ति गर्ने गरी पछिल्ला केही महिनामा गैरन्यायिक एवं तथाकथित इन्काउन्टरका नाममा घट्ने घटनामा उल्लेख्य वृद्धि भएको छ । सिपाझारमा राजनीतिक बहसमा अपराधीकरण गरिएको समुदायबाट एकजनाको हत्या भइसकेको छ भने प्रहरी हिंसाको सामान्यीकरण भएको छ । आसाममा भएको घटनाका लागि छानबिन डाकिएको छ, तर छानबिनको इतिहासले कुनै न्यायपूर्ण नजिर बसालेको देखिँदैन । यी हत्याका लागि को जिम्मेवार हुने ? विजोय बनिया उत्पादन गर्ने यो राजनीतिलाई कसले चुनौती दिने ?
स्क्रल डट इनबाट
(चक्रवर्ती रिउटर्स इन्स्टिच्युट र स्क्रल डट इनमा आबद्ध पत्रकार हुन्)