तीन महिनादेखि बन्द रहेको बाग्लुङ–कुश्मिसेरा सडकखण्ड मर्मतका लागि सुरु गरिएको छ । निरन्तर वर्षासँगै गत असारमा बाग्लुङ नगरपालिका– १० दब्लाङमा गएको पहिरोले उक्त सडकखण्डसहित कालिगण्डकी करिडोर पनि बन्द रहेको थियो । वैकल्पिक व्यवस्था नहुँदा दक्षिण बाग्लुङका जनताले सास्ती खेप्नुपरेको थियो । निरन्तरको दबाबपछि करिब साढे तीन महिनापछि मर्मत सुरु गरिएको छ ।
सरोकारवाला निकायले पटक-पटक निरीक्षण गरे पनि खासै चासो दिएर काम गरेको भने देखिएको थिएन । तीन महिनाको समयसम्म पनि पहिरो मर्मत नहुँदा चौतर्फी विरोध भइरहेको थियो । विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी आउन थालेपछि नगरपालिकाले ठाडो तोक आदेश दिएर मर्मत सुरु गरेको हो ।
पहिरो अवलोकनका लागि बाग्लुङस्थित प्रमुख जिल्ला अधिकारी, बाग्लुङ नगरपालिकाको नगर प्रमुख, डिभिजन सडक कार्यालय बाग्लुङ, पूर्वाधार विकास कार्यालय, जल तथा भूसंरक्षण कार्यालयलगायतका सरोकारवाला निकायले सो पहिरोको पटकपटक अवलोकनसमेत गरेका थिए । तत्काल रूपमा अस्थायी रूपमै भए पनि सडक सञ्चालनका लागि बाग्लुङ नगरपालिकाले भने चासो देखाएको छ ।
बाग्लुङ नगरपालिकाले सो सडक निर्माणका लागि जनश्रमदानसहित कुल २० लाख ९३ हजार रुपैयाँ विनियोजनसमेत गरेको छ । उपभोक्ता समिति गठन गरी कामको थालनी गरेको छ । बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा गएको पहिरो बाग्लुङ नगरपालिकाले दसैँअगाडि नै सवारीसाधन आवतजावत हुने गरी काम गरिरहेको बाग्लुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले जानकारी दिए । लागत कम भएकाले दसैँअगावै अस्थायी रूपमै भए पनि सडक सञ्चालन गर्ने गरी काम सुरु भएको शर्माले बताए ।
लामो समयदेखि सडक मर्मत नभएपछि बाग्लुङ नगरपालिका १० ११, १२, १३ र १४ का वडाध्यक्ष तथा सरोकारवाला निकायको भेलाले यादव शर्माको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको थियो । कम्तीमा एक हप्तामा काम सक्ने गरी काम सुरु गरिएको उपभोक्ता समितिका सचिव ज्ञानेन्द्र ढकालले जानकारी दिए । ढकाल भन्छन्, ‘उपभोक्ता समितिमार्फत सोमबारबाट सडकको मर्मत कार्य सुरु गरेका छौँ । अस्थायी रूपमै सञ्चालन गरिने बाटो भए पनि कम्तीमा एक हप्तामा सक्ने गरी काम सुरु गरेका छौँ । हामीले बाग्लुङ नगरपालिकासँग पनि सोही प्रतिबद्धता गरेका छौँ ।’