केपी ओलीको दाबी– अहिलेको सरकारलाई संविधान, कानुनको मतलब छैन (भिडियोसहित)

मंगलबार, १२ असोज, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीले सरकारले संविधान मिच्दा पनि चुप लागेर बसेको भन्दै सञ्चार माध्यमप्रति असन्तुष्टि जनाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अहिलेको सरकारले संविधान मिच्दा पनि सञ्चारमाध्यम चुप लागेर बसेको जस्तो देखिएको टिप्पणी गरेका हुन् । 

प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग मंगलबार अपराह्न अन्तरक्रिया गर्दै उनले सरकारलाई सञ्चार माध्यामहरूले खबरदारी गर्न नपुगेको बताए । ओलीले भने, ‘सरकारलाई खबरदारी गरेन भने लापरबाहीजस्तो हुँदो रहेछ, जस्तो अहिलेको सरकार । अहिलेको सरकारलाई खबरदारी पुगेन कि जस्तो लाग्छ । संविधान, कानुनको मतलब छैन ।’

ओलीले आफ्नो पार्टी फुटाउने मनसायले सरकारले अध्यादेश ल्याएको भन्दै आक्रोश व्यक्त गरे । उनले परमादेशबाट बनेको सरकारले लोकतन्त्रलाई कमजोर पार्ने भएकाले आफू चिन्तित भएको तर्क पनि गरे । 

ओलीले सरकारले बजेटमार्फत कालो धनलाई सेतो बनाउन खोजेको भन्दै आपत्तिसमेत जनाए । सरकारको सो निर्णयले नेपालमा विपत्ति ल्याउने ओलीको दाबी थियो । तर, आफ्नो पार्टीेले कालो धनलाई सेतो बनाउने सरकारको प्रयासलाई सफल हुन नदिने ओलीको दाबी छ । 

ओलीले एमसिसीबारे सरकारको धारणा पुनः माग गरे । उनले एमसिसीबारे सम्झाउन सरकारलाई अमेरिकी अधिकारी नै नेपाल आउनुपर्ने हो र ? भनी प्रश्नसमेत गरे । ओलीले सरकारको धारणा नआई आफूहरूले सोबारे धारणा बनाउन नमिल्ने अडान पनि दोहो¥याए ।  उनले भने, ‘यो सम्बन्धमा सरकारको दृष्टिकोण  के हो ? १६५ सिट भएको सरकारको । पारित गर्ने हो कि होइन, हामीलाई केही सेयर गर्नुभएको छैन ।’

ओलीले मुलुक अब निर्वाचनमा जानुको विकल्प नरहेको पनि बताए । संसद्ले कामै गर्न नसकेको अवस्थामा मुलुक अर्लिनिर्वाचनमा जानुपर्ने उनको तर्क छ । ओलीले भने, ‘सरकारले काम गर्न सकेन । त्यसले निर्वाचनमा जानुपर्छ । एमालेले अबको निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउनेछ ।’

ओलीले सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादाअनुसार काम नगरेकाले संसद् अवरोध गर्न बाध्य हुनुपरेको पनि जिकिर गरे ।
 

सुझावित समाचार