पाकिस्तानी अलराउन्डर सहिद अफ्रिदीले प्रत्यक्ष रूपमा प्रहार गरेको चौका र छक्का नेपाली सर्मथकले हेर्न नपाउने भएका छन् । यस्ता दृश्य हेर्न फेरि पनि टेलिभिजन सेटकै भर पर्नुपर्ने भएको छ । इपिएलमा सहभागी हुन आएका पाकिस्तानी अलराउन्डर अफ्रिदी ब्याटलाई छुँदै नछोई फर्किएपछि नेपाली समर्थकको चाहना अपुरो भएको हो ।
उनी इपिएलमा काठमाडौं किंग्स इलाभेनमा आबद्ध हुँदै दुई खेल खेल्ने गरी बिहीबार काठमाडौं आएका थिए । इपिएल खेल्न नेपाल आउँदा अफ्रिदीका असंख्य फ्यान दंग परेका थिए । उनीहरू अफ्रिदीको खेल हेर्न नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको त्रिवि क्रिकेट मैदानमा उपस्थितसमेत भएका थिए । तर, क्रिजमा बलको सामना एकपटक पनि नगरी अफ्रिदी फर्केका छन् । शनिबार इपिएलको उद्घाटन खेलमा काठमाडौंले साविक विजेता ललितपुर प्याट्रियट्र्सलाई सात विकेटले हराउँदा अफ्रिदीको ब्याटिङ पालो नै आएन । सो खेलमा अफ्रिदीले पूरै २० ओभर फिल्डिङ गर्नुका साथै बलिङसमेत गरी समर्थकलाई रोमाञ्चक बनाएका थिए । बलिङमा प्रभावशाली प्रदर्शन नगरेका अफ्रिदीले चार ओभरको कोटामा ३२ रन खर्चेका थिए ।
उनी फिल्डमा रन रोक्दा र थ्रो गर्दा दर्शकदीर्घाबाट ‘बुम बुम अफ्रिदी’ शब्द बारम्बार सुनिएको थियो । उनले एक क्याच लिँदा आफ्नै ट्रेडमार्क शैलीमा दुई हात माथि उठाएर नेपाली दर्शकतिर हेर्दै खुसियाली मनाएका थिए ।
यसकारण अफ्रिदीले ब्याटिङ गर्न पाएनन्
विराटनगरसँगको सोमबार हुने भनिएको खेलमा विशेषगरी अफ्रिदीमाथि नै केन्द्रित थियो । तर, आइतबारको भारी वर्षाका कारण त्रिवि मैदानको आउट फिल्डको अवस्था राम्रो भएन । ग्राउन्डम्यानले मैदान राम्रो बनाउने निकै प्रयास गरे । लगातर दुई घन्टा मैदानमा एक दर्जनभन्दा बढी कर्मचारीले पानी सुकाउन कोसिस गरे । तर, मैदानको अवस्था राम्रो नभएका कारण काठमाडौं र विराटनगरबीचको खेल स्थगित भयो । खेल स्थगित भएसँगै अफ्रिदीले ब्याटिङ नै नगरी इपिएलको यात्रा टुंग्याएका छन् ।
मैदानको अवस्था राम्रो नभएका कारण काठमाडौं र विराटनगरबीचको खेल स्थगित भयो । खेल स्थगित भएसँगै अफ्रिदीले ब्याटिङ नै नगरी इपिएलको यात्रा टुंग्याएका छन् ।
खेल स्थगित हुनुअघिसम्म अफ्रिदी आफैँ मैदानको अवस्था बुझ्न पटक–पटक चारैतिर घुमेका थिए । यो क्रममा उनले समर्थकहरूलाई धन्यवाद पनि दिएका थिए । काठमाडौंका कप्तान सन्दीप लामिछानेसँग मैदानको चक्कर लगाएका अफ्रिदीले अन्य टिममेट्सलाई खेलसम्बन्धी टिप्स दिएका थिए । अम्पायरद्वय सञ्जय गुरुङ र विनयकुमार झाले मैदान खेल्न योग्य नभएको जनाउँदै काठमाडौं र विराटनगरबीचको खेल स्थगित भएको घोषणा गरे ।
समर्थक निराश
खेल स्थगितको घोषणासँगै अफ्रिदीको अलराउन्डर प्रदर्शन हेर्न त्रिवि मैदान पुगेका करिब दुई सय दर्शक निराश भए । ‘आज पनि अफ्रिदीकै खेल हेर्न आएको थिएँ,’ कीर्तिपुरका विनोद केसीले भने, ‘खेल नभएपछि निराश भएको छु, पहिलो खेलमा उनको ब्याटिङ प्रतीक्षा गरेको थिएँ तर उहाँले मौका नै पाउनुभएन ।’ विराटनगरविरुद्ध अफ्रिदीद्वारा ब्याटिङको एक झल्को हर्न पाउने विश्वास केसीलाई थियो । ‘अफ्रिदीले कम्तीमा विराटनगरविरुद्ध ब्याटिङ गर्नुहुन्छ जस्तो लागेको थियो, तर खेल नै स्थगित भएपछि प्रत्यक्ष रूपमा उहाँको विस्फोटक ब्याटिङ हेर्न अवसर पाइनँ,’ केसीले भने ।
केसी झै लगनखेलका रामप्रसाद श्रेष्ठ पनि विहानै अफ्रिदीकै खेल हेर्न त्रिवि मैदानमा पुगेका थिए । उनी पनि निराश हुँदै फर्किए । ‘आज पक्कै अफ्रिदीले ब्याटिङ गर्नुहुन्छ भन्ने आशा थियो, खेल नै स्थगित भएपछि के लाग्यो,’ निराश भएका श्रेष्ठले भने, ‘प्रत्यक्ष रूपमा मैदानमा अफ्रिदीलाई हेर्न भने पाएँ ।’ अम्पायरद्वयले खेल स्थगित भएको बताएपछि अफ्रिदी सीधै होटेल सोल्टी गएका थिए ।
पाँच दिनको नेपाल बसाइका क्रममा अफ्रिदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए । यसैगरी उनले आइतबार माउन्टेन फ्लाइटबाट सगरमाथालगायत अन्य हिमालको अवलोकन गरे ।
दुवै खेल स्थगित
अघिल्लो दिन (आइतबार) भारी वर्षाका कारण त्रिवि मैदानको आउट फिल्ड राम्रो नभएका कारण सोमबारका दुवै खेल स्थगित भएको छ । काठमाडौं र विराटनगरबीचको खेल स्थगित भएसँगै दोस्रो खेल भैरहवा र चितवनबीच हुने सम्भावना थियो । तर, यो खेल पनि स्थगित भयो ।
क्रिकेट कूटनीति आवश्यक
छोटो बसाइका क्रममा विश्व क्रिकेटका असाध्य राम्रा अलराउन्डर अफ्रिदीले क्रिकेटको कूटनीति माध्यमबाट नेपाल र पाकिस्तानका नागरिकलाई जोड्न सकिने बताएका छन् । ‘नेपाल र पाकिस्तानका जनतालाई नजिक पुर्याउन क्रिकेट कूटनीति आवश्यकता छ,’ एक अन्तर्वार्तामा अफ्रिदीले भनेका थिए ।
त्रिभुवन विमानस्थलमा ओर्लँदा र काठमाडौंले जर्सी सार्वजनिक गरेको कार्यक्रममा अफ्रिदीले नेपालको क्रिकेट विकासका लागि सधैँ तयार भएको जनाएका थिए । ‘नेपालको क्रिकेट विकासका लागि मेरो सहयोग आवश्यकता भए म जहिले पनि तयार नै छु,’ उनले भने, ‘मलाई बोलाउनुुस् म आउँछु ।’
अफ्रिदीले नेपाली क्रिकेटको भविष्य निकै राम्रो भएको बताएका छन् । उनी भन्छन्, ‘नेपाली क्रिकेटको भविष्य निकै राम्रो छ, यसमा सरकारले विशेष ध्यान दिनुपर्छ ।’ नेपालको क्रिकेट विकासका निमित्त उनले नेपाली क्रिकेटरलाई पाकिस्तानमा निमन्त्राणा दिन पहल गर्ने विश्वास दिलाए ।