नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक बस्ने भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनमा भएको ढिलाइ, डडेल्धुरामा असहमतिबीच गराइएको वडा अधिवेशनलगायतका विषयमा छलफलका लागि बैठक आह्वान गरेका हुन्।
पौडेलनिकट केन्द्रीय सदस्य बलबहादुर केसीले सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक डाकिएको नयाँ पत्रिकालाई जानकारी दिए। ‘१४औँ महाधिवेशनका सन्दर्भमा छलफल गर्न लागिएको हो,’ उनले भने, ‘विशेषगरी डडेल्धुरामा भएको अधिवेशनबारे छलफल हुनेछ।’
पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पार्टीको केन्द्रीय नेताको असहमति र जिल्लाका नेताहरूको बहिष्कारबीच वडा अधिवेशन गरिएको थियो। संस्थापनइतर पक्ष प्रहरी परिचालन गरेर जबर्जस्ती अधिवेशन गराइएको भन्दै रुष्ट बनेको छ।
साथै, आजको बैठकमा मन्त्रिपरिषद् विस्तारका क्रममा आफ्नो समूहबाट पठाउने नेताको नाम, क्रियाशील सदस्यतामा भएको ढिलाइलगायतका विषयमा समेत छलफल गर्ने बताइएको छ।