निर्णायक छलफलका लागि एमसिसी उपाध्यक्ष काठमाडौंमा

सम्झौता अघि बढाउने वा फिर्ता गर्ने भन्ने निर्णय तत्काल गर्न दलहरूसँग आग्रह

शुक्रबार, २५ भदौ, २०७८
डिजिटल संस्करण
निर्णायक छलफलका लागि एमसिसी उपाध्यक्ष काठमाडौंमा

एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्दै एमसिसी उपाध्यक्ष सुमार

नेपाल भ्रमणमा रहेकी एमसिसी उपाध्यक्ष फतेमा जेड सुमारले नेपालले सम्झौतालाई अघि बढाउने वा फिर्ता पठाउने विषयमा तत्काल ठोस निर्णय गर्न दलहरूसँग आग्रह गरेकी छिन् । बिहीबार बिहान काठमाडौं ओर्लिएकी सुमारले सुरुमा प्रमुख प्रतिपक्षी पार्टी एमालेका अध्यक्ष केपी ओलीलाई भेटेपछि सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता बाबुराम भट्टराई र उपेन्द्र यादवसँग भेटेकी थिइन् । सबै राजनीतिक नेतृत्वहरूसँगको भेटमा उनले एमसिसी विवादलाई अरू नलम्ब्याउन आग्रह गरिन् । 

‘एमसिसी कुनै सैन्य रणनीति होइन, इन्डो–प्यासिफिक रणनीतिको अंग हुँदै होइन,’ सुमारलाई उद्धृत गर्दै एकीकृत समाजवादीका नेता डा. गंगालाल तुलाधरले नयाँ पत्रिकासँग भने, ‘नेपाली जनताको हितमा छ भन्ने यहाँहरूलाई लाग्छ भने प्रक्रिया अगाडि बढाउनुहोस्, नत्रभने अन्य मुलुकमा यो परियोजना लैजान्छौँ । एउटा निर्णय दिनूस् । हामीले एमसिसी नेपाललाई थुपार्न खोजेका होइनौँ, नितान्त तपाईँहरूको चाहनाको कुरा हो ।’

सुमारले गरिबी निवारणका लागि नेपाली जनतालाई अनुदान दिन लागिएको र त्यही लक्ष्यमा चार वर्षअघि सम्झौता भएको एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई बताएकी थिइन् । भेटवार्तामा सहभागी नेता तुलाधरका अनुसार सरकारले एमसिसी मुख्यालयलाई सोधेको प्रश्नको जवाफ व्याख्या गरेर नेपाललाई सुनाउँदै भनिन्, ‘यो सैनिक रणनीति होइन, नेपालको सार्वभौमसत्ता र अखण्डताको यसले अवमूल्यन गर्दैन ।’

जवाफमा अध्यक्ष नेपालले नेपाली जनताको हितमा हुने अनुदान मात्रै ग्राह्य हुने भन्दै विगतमा अमेरिकी अधिकारीहरूले नै एमसिसीलाई हिन्द–प्रशान्त रणनीतिको अंग भएको वक्तव्य दिएर माहोल बिगारेको टिप्पणी गरेका थिए ।‘उतिवेलै तपाईंहरूले एमसिसीलाई हिन्द–प्रशान्त रणनीतिको अंग होइन, भनिदिनुभएको भए भ्रम रहनेवाला थिएन, चार वर्ष पेचिलो हुने थिएन,’ नेपालको भनाइ उद्धृत गर्दै तुलाधरले नयाँ पत्रिकासँग भने, ‘तपाईंले हामीलाई स्पष्ट पार्नुभएको छ । सत्तागठबन्धनका अन्य दलहरूलाई पनि भेटेर स्पष्ट पार्नुहोस् । हामी पार्टीमा र गठबन्धनमा यसबारे छलफल गरेर एउटा निष्कर्षमा पुग्नेछौँ ।’ 

सुमारले नेपाललाई एमसिसी सम्झौता, पछिल्ला पत्राचारलगायतका विषय समेटिएको दस्ताबेज हस्तान्तरण गरेकी थिइन् । फतिमासँगको भेटलाई लिएर सत्तारुढ पार्टी जसपा वरिष्ठ नेता भट्टराईले उपयोगी छलफल भएको बताएका छन् । उनले बिहीबार अबेर ट्विटरमा लेखेका छन्, ‘नेपाल भ्रमणमा रहेका एमसिसीका उपाध्यक्ष र सहायक उपाध्यक्षसँग उपयोगी छलफल । प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय गरिने जानकारी ।’ 

उपाध्यक्ष सुमारले भ्रमणको पहिलो दिनका भेटहरू उत्साहजनक रहेको प्रतिक्रिया दिएकी छिन् । ट्विटरमा बिहीबार साँझ उनले एमसिसीबारे नेपालीहरूको कुरा सुनेको र आफ्ना कुरा भनेको उल्लेख गरेकी छिन् । ‘खुला, इमानदार र पारदर्शी संवाद एमसिसीको महत्वपूर्ण पक्ष हो,’ उनले लेखेकी छिन् । 

ओलीले भने– प्रचण्ड र दुईजना सभामुखले रोके
पछिल्ला केही दिनयता एमसिसीमा आफ्नो अडान फेरेका एमाले अध्यक्ष केपी ओलीले सुमारसँगको वार्तामा दुई सभामुख र प्रचण्डका कारण आफ्नो पालामा एमसिसी पास नभएको दाबी गरे । पूर्वप्रधानमन्त्री ओलीले उपाध्यक्ष सुमारलाई एमसिसी पास नहुनुमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वसभामुख कृष्णबहादुर महरा र वर्तमान सभामुख अग्निप्रसाद सापकोटा भएको बताए ।

उनले वर्तमान सत्तागठबन्धनसँग एमसिसी पास गर्न संसद्मा स्पष्ट बहुमत रहेको र एमालेसँग सरकारले यसबारे छलफल नै नगरेको दाबी गरे । ओलीसँग पनि एमसिसी उपाध्यक्ष सुमारले सम्झौता हिन्द–प्रशान्त रणनीतिअन्तर्गत नरहेको, नेपालको संविधानभन्दा माथि नरहेको र राष्ट्रिय अखण्डता एवं सार्वभौमिकतालाई असर नगर्ने भन्दै विवादित विषयलाई स्पष्ट पार्ने प्रयास गरेकी थिइन् । 

‘हामीले संसद्बाट एमसिसी पारित गर्न गम्भीरतापूर्वक प्रयास गरेका हौँ, तर प्रचण्ड र दुईजना सभामुखको कारण रोकियो । किनभने सभामुख प्रचण्डको निर्देशनमा मात्रै काम गर्छन् । मैले पटकपटक संसद्मा टेबुल गरौँ भन्दा सभामुख सापकोटाले असंवैधानिक र गैरकानुनी रूपमा रोक्ने काम गरे । मूलतः प्रचण्डका कारण संसद्बाट एमसिसीको कारबाही अघि बढ्न सकेन,’ ओलीको भनाइ उद्धृत गर्दै एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नयाँ पत्रिकासँग भने । ओलीले एमाले प्रतिपक्षमा पुगेको अवस्थामा एमसिसीलाई लिएर एमालेको भूमिका बदलिएको बताएका थिए । सुमारले शुक्रबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

सुझावित समाचार