सफाइ मजदुरमाथि दमक नगरपालिकाको झेल

मंगलबार, १५ भदौ, २०७८
डिजिटल संस्करण
सफाइ मजदुरमाथि दमक नगरपालिकाको झेल

नियुक्तिपत्र पाएपछि दमक नगरपालिकाअगाडि सफाइ मजदुर । फाइल तस्बिर : नयाँ पत्रिका

पूर्वप्रतिबद्धताविपरीत नियुक्तिपत्रको नवीकरण नै भएन, महिला मजदुरलाई पूरा काम लगाएर आधा ज्याला

तीन दशक दमक नगरपालिकामा फोहोर सफाइ गर्दै आएका ३० मजदुरलाई कामबाट निकालेपछि गत चैतमा मजदुरहरू आन्दोलित बने । एक सातासम्म नगरपालिकामा दैनिक धर्ना दिए । निजी कम्पनीले दमक नगरपालिकाभित्रको फोहोरमैला व्यवस्थापनको जिम्मा लिएपछि सामाजिक संरचनाको पिँधमा रहेका तराईको दलित समुदायका मजदुरलाई निकालिएको थियो । 

तीन दशकसम्म नियुक्तिपत्रविनै काममा लगाइएका मजदुरको आन्दोलन र नयाँ पत्रिकाले बारम्बार समाचार लेखेपछि उनीहरूलाई नगरपालिकाले बाध्य भएर पुनर्वहाली गर्यो । नगरपालिकाले दैनिक ज्यालादारीमा करार सम्झौता गर्दै नियुक्तपत्र उपलब्ध गरायो । 

नियुक्तिपत्रको करार सम्झौता ०७८ असार मसान्तसम्म थियो । नगर प्रमुख रोमनाथ ओलीले असारपछि नयाँ करार सम्झौता गरेर नियुक्तिपत्र नवीकरण गर्ने प्रतिबद्धता जनाएका थिए । तर, अहिले आएर नगरपालिकाले दलित मजदुरमाथि झेल गरेको छ । नियुक्तिपत्रको म्याद सकिएको दुई महिना हुनैलाग्दासमेत करार सम्झौताको नवीकरण नगरिदिएको सफाइ मजदुर सिकेन्द्र मल्लिकले बताए ।

‘नगरपालिकाले हामी मजदुरमाथि झेल गर्यो । हामीले ३० वर्षसम्म त थाहा नपाएर विनानियुक्तिपत्र काम गर्यौँ । बल्ल नियुक्तिपत्र पाएका थियौँ,’ उनले भने, ‘तर, फेरि नियुक्तिपत्रविना काम गर भन्दै छन् । हाकिमलाई भन्दा कहिले यतिकै हाजिरमा काम गर भन्छन्, त कहिले एक दुई दिनमा नियुक्तिपत्र बनाइदिन्छौँ भन्छन् ।’

ज्यालामा महिला र पुरुष मजदुरबीच विभेद गरेको छ । नियुक्तिपत्रमा चलाखीपूर्ण ढंगले महिलाको काम गर्ने समय थोरै राखिएको छ । तर, काम भने पुरुष समान सात घन्टा गर्नुपर्छ । नियुक्तिपत्रमा पुरुष सफाइ मजदुरलाई सात घन्टा काम गरेबापत १३ हजार ७७१ रुपैयाँ दिइने उल्लेख छ । महिला सफाइ मजदुरलाई भने तीन घन्टाको ६ हजार पाँच सय । तर, काम भने सात घन्टा नै गर्नुपर्ने सफाइ मजदुर बविन मल्लिक बताउँछिन् । ‘म भृकुटी माविमा काम गर्छु । बिहान १० बजेदेखि स्कुल बन्द नभएसम्म म काममै हुन्छु । तर, छोरा मान्छेलाई दिनेजति पैसा दिँदैनन्,’ उनी भन्छिन्, ‘तीन घन्टा मात्र काम गर्न खोज्यो भने सरहरूले तिमी पनि कर्मचारी म पनि कर्मचारी भनेर सात घन्टा नै काम लगाउँछन् ।’

अब विद्यालयहरूले नै नियुक्तिपत्र दिन्छन् : मेयर ओली
मजदुर आन्दोलित बन्दा असारपछि पनि करार सम्झौता थप्ने आश्वासन दिएका दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले भने बोली फेरेका छन् । ३० जना सफाइ मजदुरलाई दमकका विभिन्न विद्यालयमा काम लगाइएकाले अब नियुक्तिपत्र उनीहरूले काम गर्दै गरेको विद्यालयले दिने बताए । ‘उहाँहरू विद्यालयहरूमा दैनिक ज्यालादारीमा काम गर्दै हुनुहुन्छ । विद्यालयले नै नियुक्तिपत्र दिने हो,’ मेयर ओलीले भने, ‘विद्यालयले आवश्यकअनुसार फुलटाइम राख्छ कि पार्टटाइम, अब उसैले गर्ने हो ।’

सुझावित समाचार