एमालेको विभाजन : दक्षिणपन्थलाई धक्का

शुक्रबार, ११ भदौ, २०७८
डिजिटल संस्करण

आफूलाई असल एमाले दावा गर्ने कुनै पनि एमालेजनले आजको अवस्थाको जानकारी आफैँले आफैँभित्र खोज्ने साहस गर्नुपर्ने भएको छ । अन्यथा, भविष्यमा वर्तमान एमालेको पतनमा आफ्नै मौनता पनि एक कारण भएको तत्वबोधको पश्चातापमा जल्नुबाहेक केही बाँकी रहनेछैन ।

नेतृत्वले त यसो गर्ने छाँटकाँट देखिँदैन, किनभने त्यो जत्था मूलतः सत्ता र शक्तिको नशामा चुर भएर भ्रमको सिर्जना र कसैगरी पनि पार्टीले बोकेको भनिएको माक्र्सवादी–लेनिनवादी विचार र तमाम कार्यकर्ताको भावनामाथि गरेको बेइमानीको ढाकछोपमा तल्लीन छ । यसमा उपयोग भएका छन्, केही दोस्रो र तेस्रो तहका भनिएका विचारशून्य एवं दिशाहीन नेता । 

०४७ साल पुसमा तत्कालीन नेकपा (माले) र नेकपा माक्र्सवादीको एकीकरणपछि एमालेको जन्म भयो । ०४७ को राजनीतिक परिवर्तनपछि एउटा कम्युनिस्ट पार्टीका रूपमा नेकपा एमालेले जस्तो राजनीतिक व्यवस्था र सामाजिक अवस्थाको पहलकदमी लिन सक्नुपर्थ्यो, त्यस्तो कहिल्यै लिएन । पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज)को सरल, सहज र आफूअनुकूल व्याख्या गर्दै बारम्बार सत्ताको हालिमुहाली त गर्‍यो, तर एउटा कम्युनिस्ट पार्टीले न्यूनतम रूपमा गर्नुपर्ने शिक्षा, स्वास्थ्य र रोजगारजस्ता जनताका आधारभूत कुराको व्यवस्थापन र सहजीकरणमा कुनै महत्वपूर्ण नीतिगत कार्यक्रमहरू ल्याउन सकेन । 

कुनै पनि कम्युनिस्ट पार्टीका लागि सबभन्दा महत्वपूर्ण उसको राजनीतिक दर्शन र सिद्धान्त हुन्छ । नेपालको जस्तो जात–व्यवस्थाले निर्माण गरेको वर्गीय र विभेदकारी समाजको परिवर्तन र रूपान्तरणमा मार्क्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोग महत्वपूर्ण हुन्छ । जनताको जीवनमा आउने सकारात्मक परिवर्तनहरूले नै कम्युनिस्ट आन्दोलनप्रति जनताको विश्वास र भरोसा रहने गर्छ । राज्यसत्तामा आसीन रहँदा नेकपा एमालेले माक्र्सवादी विचार र सिद्धान्तअनुरूपका अर्थ–राजनीतिक एवं सामाजिक नीति तथा कार्यक्रममा जुन किसिमको अग्रसरता लिनुपर्ने थियो, त्यो कहिल्यै लिएन । ५० को दशकपछि नेकपा एमाले जुन हैसियतमा बारम्बार सत्तामा आसीन रह्यो, तर आफ्नो राजनीतिक दर्शन र सिद्धान्तअनुरूपका कार्यक्रमहरू अवलम्बन गर्नमा खासै ध्यान दिएन । यसो नहुँदो हो त ३०–३५ वर्ष कम्युनिस्ट पार्टी सरकारमा रहेको मुलुकको आर्थिक अवस्था यति विघ्न जर्जर हुनुपर्ने थिएन । महिला हिंसा र विभेद यति आम र बृहत् हुने थिएन । 

०७१ सालमा एमालेको नवौँ महाधिवेशनले केपी ओलीलाई पार्टीको अध्यक्षमा झिनो मतले निर्वाचित त गर्‍यो, तर पुष्पलालकालीन जस्तै यो महाधिवेशनले पनि पार्टीको विचार एउटाको र नेतृत्व अर्कैको अनुमोदन गर्‍यो । सम्भवतः नेकपा एमालेको आजको यो फुटसम्मको यात्राको शिलान्यास त्यतिवेलै भएको हो । राजनीतिक पार्टीहरू सत्ता र शक्तिका लागि संघर्ष मात्र गर्दैनन् । प्रकारान्तरमा पार्टीहरू आफैँमा एउटा बलियो सत्ता र शक्तिको रूपमा परिणत हुन्छन् । पार्टी अध्यक्ष भएपछि केपी ओलीले पार्टी, सत्ता र शक्तिको भरपुर प्रयोग पार्टीभित्रको आफ्नो गुटका लागि गरे । पार्टीलाई विश्वविद्यालयको उडन्ते संज्ञा दिएर मनलाग्दी मान्छेहरूलाई पार्टीमा स्वागत गरे । पार्टीका विभिन्न संगठनहरूमा रहेर काम गरेका आफूइतरका नेता कार्यकर्ताहरूलाई गुटका आधारमा पाखा गरे । पार्टीभित्र अराजक राजनीतिक संस्कारको विकास गरे । 

ओली नेतृत्वको एमालेले अहिले गरिरहेको बहस, देखाइरहेको राजनीतिक संस्कार र उठाइरहेको मुद्दाका आधारमा भन्न सकिन्छ, आजको नेकपा एमालेको विभाजनले नेपालको कम्युनिस्ट आन्दोलनलाई कुनै असर गर्नेछैन 

पहिलो संविधानसभाले संविधान निर्माण गर्न सफल नहुँदा द्वन्द्वत्तर नेपाली राजनीतिमा धेरै परिवर्तन भयो । दोस्रो संविधानसभाको निर्वाचनले संविधानसभामा कायम पार्टीहरूबीचको संघर्षको हैसियतलाई उलटपुलट गरिदियो । लामो समय मूलधारको राजनीतिबाट किनारा लागेका केपी ओली एकाएक राजनीतिको केन्द्र बनेर उदीयमान भए । उनकै नेतृत्वमा पहिलो संविधानसभाले कल्पना गरेभन्दा फरक, राजनीतिक भाषामा भन्नुपर्दा प्रतिगमनकारी एक थान संविधान दोस्रो संविधानसभाले निर्माण गर्‍यो । संविधान निर्माणका वेलामा भारतले गरेको मूर्खतापूर्ण हस्तक्षेपको प्रतिवादका कारण उनको व्यक्तित्व आवश्यकभन्दा बढी चुलियो।

व्यक्तित्व चुलिएसँगै सत्ता र शक्तिको भोकले उनीभित्रको राजनीतिक तिकडमले मूर्त रूप धारण गर्‍यो । त्यसकै उपज थियो, तत्कालीन नेकपा (एमाले) र माओवादी (केन्द्र)बीचको पार्टी एकीकरणसम्मको चुनावी तालमेल । आज आएर विशेषगरी नेकपा एमालेका नेता–कार्यकर्ता छर्लंग भएको हुनुपर्छ, सत्ता–स्वार्थले दुई पार्टी एकीकरण गरेका ओलीले आफ्नो सत्तालाई खतरा महसुस हुनेबित्तिकै नेकपा (एमाले) र माओवादी (केन्द्र)बीचको पार्टी एकीकरण मात्र होइन, आफ्नै पार्टी पनि भताभुंग बानाइदिए । जसकारण ०५४ साल फागुनमा पहिलोपटक फुटेको एमाले पुनः ०७८, ९ भदौमा विधिवत् रूपमा फुट्यो । एमाले फुटेर नेकपा (एकीकृत समाजवादी)को जन्म भएको छ । 

०७४ को निर्वाचनमा तत्कालीन दुई फरक पार्टी एमाले र माओवादीको चुनावी तालमेलले जुन जनमत पाएको थियो, त्यसको महत्व र त्यो खास समयलाई केपी ओलीले बुझ्न सकेनन् ।  गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता मूलभूत रूपमा नेपाली राजनीतिका पछिल्ला उपलब्धि थिए, त्यसअनुसारको शासकीय चरित्रको निर्माण गर्नै चाहेनन् । लामो राजनीतिक–सामाजिक आन्दोलनबाट संविधानमा स्थापित समावेशिताजस्तो गम्भीर विषयलाई आफ्नो राज्यकलामा कुनै स्थान नै दिएनन् । संघीयतालाई आत्मसात् गरेनन् । धर्मनिरपेक्षतालाई आफ्नो सत्ताका लागि लिलामीमा राखिदिए । यी सबैले आज केपी ओली सत्ताबाट विमुख मात्र भएका छैनन्, उनकै नेतृत्वमा रहेको नेकपा एमाले पनि विभाजित भएको छ । र, नेपाली राजनीति एउटा अर्को जटिल कोर्स लिन बाध्य भएको छ ।

अन्त्यमा, नेकपा एमालेको विभाजनपछि राजनीतिक र बौद्धिक क्षेत्रमा नेपाली कम्युनिस्ट आन्दोलनको ठूलो चिन्ता सुनिन्छ । ओली नेतृत्वको एमालेले अहिले गरिरहेको बहस, देखाइरहेको राजनीतिक संस्कार र उठाइरहेको मुद्दाका आधारमा भन्न सकिन्छ, आजको नेकपा एमालेको विभाजनले नेपालको कम्युनिस्ट आन्दोलनलाई कुनै असर गर्नेछैन । बरु यसले पछिल्लो समय मौलाउँदै गएको दक्षिणपन्थलाई ठूलो धक्का लाग्नेछ । अझ छिचोलेर भन्नुपर्दा अहिलेको नेकपा एमालेको विभाजनले कम्युनिस्ट पार्टीहरू र आन्दोलन एकीकृत हुने सम्भावनालाई बलियो बनाएको छ ।

सुझावित समाचार