प्रस्तावित सहकारी बैंकको सम्पर्क कार्यालय स्थापना

मंगलबार, ८ भदौ, २०७८
डिजिटल संस्करण

प्रस्तावित नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय खुलेको छ । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना र विभागका सचिव एवं बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्त रूपमा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । 

प्रस्तावित बैंकले मध्य बानेश्वरमा रहेको सम्पर्क कार्यालयलाई ६ महिनापछि कारोबार सञ्चालन गर्ने गरी योजना बनाइरहेको जनाइएको छ । बैंकका पदाधिकारीले यसअघि सञ्चालनमा आएको राष्ट्रिय सहकारी बैंकले सबै सहकारी क्षेत्रलाई समेट्न नसकेको आरोप लगाउँदै सबैको साझा सहकारी बैंकका रूपमा नेपाल सहकारी बैंक सञ्चालन गर्न लागिएको जनाएका छन् । 

नेपाली कांग्रेसका नेता ढुंगानाले अबको ६ महिनाभित्र बैंक सञ्चालनमा आउने बताए । उनले भने, ‘पुँजी र अर्थतन्त्रलाई चलायमान बनाउन सहकारी बैंक अपरिहार्य रहेको छ । जहाँ प्रतिस्पर्धा हुन्छ, त्यहाँ प्रगति हुन्छ, सोही आधारमा नेपाल सहकारी बैंक दर्ता प्रक्रिया अघि बढेको हो ।’ एउटा मात्र बैंकले करिब ३४ हजार सहकारीलाई समेट्न नसकेपछि नेपाल सहकारी बैंक स्थापना गर्न लागिएको उनको भनाइ थियो ।  

प्रस्तावित बैंकका अध्यक्ष भण्डारीले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट सीमित बैंकिङ कारोबार गर्न पाउने गरी लाइसेन्स पाउनासाथ नेपाल सहकारी बैंक सञ्चालनमा आउने बताए । केही व्यक्तिले यो बैंकलाई नेपाली कांग्रेसको बैंक भनेर हल्ला गरेका तथा केहीले बैंक खोल्न दिनै हुँदैन भनेर लागिपरेको उनको गुनासो थियो । 

See More On

सुझावित समाचार