- व्यक्तिगत तथा व्यावसायिक प्रयोजनमा हुने विदेशी मुद्राको सहटी सीमा पाँच गुणासम्म वृद्धि, स्वास्थ्य उपचारका लागि वार्षिक ३० हजार डलर खर्च गर्न पाउने गरी सटही सुविधा
- राष्ट्र बैंकको ढुकुटीमा २५ अर्ब ८४ करोड डलर सञ्चिति
नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको सीमा पाँच गुणासम्मले बढाएको छ । केन्द्रीय बैंकले विदशी विनिमय सञ्चिति बढ्दै गएको अवस्थालाई ध्यानमा राखी व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि गरिने विदेशी मुद्राको सटहीलाई सहजीकरण गर्दै सटही सीमा पाँच गुणासम्मले बढाएको हो ।
राष्ट्र बैंकले सोमबार विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा जारी गरिएको एकीकृत परिपत्र, ०८२ मा संशोधन गर्दै मुद्रा सटहीको सीमा पाँच गुणासम्मले बढाउनुका साथै प्रक्रियागत सहजीकरणसमेत गरेको छ । राष्ट्र बैंकले विदेशस्थित अस्पतालमा गई स्वास्थ्य उपचारका लागि गरिने खर्च, हवाईजजाजको इन्जिन तथा पार्टपुर्जाको आयात, दूरसञ्चार कम्पनीले लिने स्याटेलाइट सेवा भाडाको भुक्तानी, विभिन्न संघ–संस्थाले भारतबाट लिने सेवाको भुक्तानीलगायतमा विदेशी मुद्राको सटही सीमा बढाएको हो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले खुकुलो नीति लिँदै आएको बताए । अहिले सटहीको सुविधा सहजीकरण र सीमा वृद्धि पनि त्यसकै अंग भएको उनको भनाइ छ । ‘अहिले एकातर्फ उद्योग–व्यवसायलाई सहजीकरण र प्रोत्साहन गर्नुपर्ने वेला छ भने अर्कातर्फ हामीसँग विदेशी विनिमय सञ्चितिको पर्याप्त सुविधा पनि छ,’ उनले भने ।
राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार अब विदेशस्थित अस्पतालमा गई औषधोपचार गराउने र औषधि तथा उपचारजन्य उपकरण खरिद गर्न बैंक तथा वित्तीय संस्थाहरूले वार्षिक अमेरिकी डलर ३० हजारसम्म सटही सुविधा दिन सक्नेछन् । यसअघि बैंक तथा वित्तीय संस्थाले औषधि उपचारका लागि वार्षिक १५ हजार डलरसम्म मात्रै सटही सुविधा दिन सक्ने व्यवस्था थियो ।
नेपाली वायुसेवा कम्पनीले हवाईजहाजका इन्जिन वा पार्टपुर्जा आयात गर्दा नागरिक उड्डयन प्राधिकरणको सिफारिससमेतका कागजातका आधारमा अमेरिकी डलर पाँच लाखसम्मको अग्रिम भुक्तानी बैंक तथा वित्तीय संस्था स्वयंले पठाउन सक्नेछन् । यस प्रयोजनका लागि विदेशी बैंकको बैंक ग्यारेन्टी आवश्यक नपर्ने व्यवस्था गरिएको छ । यअसघि वायुसेवा कम्पनीले इन्जिन वा पार्टपुर्जा आयात गर्दा अमेरिकी डलर एक लाखसम्मको अग्रिम भुक्तानी बैंक तथा वित्तीय संस्था स्वयंले पठाउन सक्ने व्यवस्था थियो ।
राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार अब दूरसञ्चार सेवाप्रदायक कम्पनीले विदेशी सेवाप्रदायक कम्पनीसँग सम्झौता गरी सेटेलाइट सेवा लिँदा भाडाबापत वार्षिक अमेरिकी डलर पाँच लाखसम्मको भुक्तानी बैंक तथा वित्तीय संस्था स्वयंले गर्न सक्ने व्यवस्था गरिएको छ । यअसघि यस्तो सीमा एक लाख डलर रहेको थियो ।
नेपालमा दर्ता भई कारोबार गर्न स्वीकृति प्राप्त गरेका नेपाली तथा विदेशी संघ–संस्था, कम्पनीलगायतले भारतबाट विविध सेवा–सुविधा लिने सम्झौता–सहमतिबमोजिमको प्रतिपटक भारतीय रुपैयाँ ६० लाखसम्मको भुक्तानी वाणिज्य बैंकबाट गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि यस्तो प्रयोजनमा प्रतिपटक भारतीय रुपैयाँ ४० लाखसम्मको सीमा रहेको थियो ।
चीनबाट हुने आयातमा सहजीकरण
केन्द्रीय बैंकले चीनका विभिन्न नाकाबाट हुने आयातका क्रममा हुने विदेशी मुद्राको भुक्तानीलाई समेत खुकुलो बनाएको छ । तातोपानी, रसुवागढी वा मुस्ताङ भन्सार विन्दुमार्फत हुने आयातको भुक्तानी भन्सार जाँचपास हुनुपूर्व मात्र पूर्ण भुक्तानी पठाउनुपर्ने गरी खुकुलो व्यवस्था गरिएको छ । यसअघि वस्तु आयातबापतको भुक्तानी सामान सिपमेन्ट हुनुपूर्व नै गरिसक्नुपर्ने व्यवस्था थियो ।