आर्मीको ‘मेस’मा दैनिक १० हजार लिटर डिडिसी दुध, निर्यातपछि आन्तरिक बजार बढाउने रणनीति

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)बाट दैनिक १० हजार २५१ लिटर प्रशोधित दुध खरिद गर्न नेपाली सेनाले सम्झौता गरेको छ ।

डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र नेपाली सेनाको आपूर्ति तथा परिवहन निर्देशनालयका रथी सञ्जयकुमार रञ्जितबिच दुध, दही, पनिर, पाडउर र चिज खरिद गर्न सम्झौता भएको हो ।

सम्झौताअनुसार सेनाले डिडिसीबाट दैनिक दही ३६५ लिटर, पनिर ३७ किलो, पाउडर दुध २१ किलो र चिज १५ किलो खरिद गर्नेछ ।

यो खरिद सम्झौता आगामी १ माघबाट लागू हुने डिडिसीका महाप्रबन्धक पाण्डेले जानकारी दिए । ‘दैनिक १० हजार लिटर दुध सेनाको ब्यारेकमा आपूर्ति गर्ने गरी भएको सम्झौता डिडिसीका लागि ठुलो उपलब्धि हो’ उनले भने, ‘यो सम्झौता कार्यान्वयन गर्न हामीले किसानबाट खरिद गर्ने दुधको परिमाण पनि तत्कालै बढाउनेछौँ।’ उनका अनुसार डिडिसीले देशभरबाट दैनिक ७० हजार लिटर दुध संकलन गरिरहेको छ । दसैँलगत्तै थप ४० हजार लिटर दुध संकलन बढाउने पाण्डेले बताए । ‘दसैँपछि दैनिक एक लाख लिटरभन्दा बढी दुध किसानबाट खरिद गर्नेछौँ,’ उनले भने । डिडिसीले दुध संकलन बढाउँदा किसानले समेत राम्रो आम्दानी गर्नेछन् । अहिले डिडिसीले बक्यौता पनि चुक्ता गरिसकेको पाण्डेले जानकारी दिए ।

सेनाको ३२ जिल्लामा रहेका ब्यारेकमा दुध तथा दुग्धजन्य उत्पादन आपूर्ति गर्ने गरी सम्झौता भएको पाण्डेले जानकारी दिए । ‘सहरी क्षेत्रमा प्रशोधित दुध र हिमाली क्षेत्रका ब्यारेकमा पाउडर दुध पठाउनेछौँ,’ उनले भने ।

प्रधानमन्त्री बालेन्द्र शाह आएयता डिडिसीले आक्रमक बजारीकरण गरिरहेको छ । कृषि मन्त्रालयका सहसचिवसमेत रहेको पाण्डेले महाप्रबन्धकको जिम्मेवारी पाएलगत्तै दुबईमा घिउ र थाइल्यान्डमा याक चिज निर्यात गर्न थालेका छन् ।

जापान र कोरियामा पनि चाँडै घिउ निर्यात हुन लागेको उनले बताए । ‘निर्यातबाट मात्र होइन, आन्तरिक बजार पनि बलियो बनाउनुपर्छ भनेर केही रणनीति अख्तियार गरेका छौँ,’ उनले भने, ‘६ महिनायता काठमाडौं उपत्यकामा मात्रै १८ वटा आउलेट थपेका छौँ । यी आउटलेटबाट सर्वसाधारणसमक्ष डिडिसीका उत्पादन पुर्याउने काम भइरहेको छ ।’ उनले आगामी दिनमा अन्य सरकारी निकायसँग संस्थागत सहकार्य बढाएर कारोबारसमेत वृद्धि गर्ने योजना रहेको बताए ।

सुझावित समाचार