कांग्रेस बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित

बिहिबार, २८ साउन, २०७८
डिजिटल संस्करण

पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा छलफल गर्न बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । 

बिहीबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनका लागि निर्वाचन निर्देशिका छलफलका लागि प्रस्तुत गरेका छन् । सो निर्देशिकालाई सहमहामन्त्री डा. प्रकाशशरण महत र डा. मीनेन्द्र रिजालसहित निर्वाचन समितिले अन्तिम रूप दिएको थियो ।

उपसभापति विमलेन्द्र निधिले अन्य राजनीतिक दल समायोजन समितिले अहिलेसम्म गरेको निर्णयहरूको विवरण बैठकमा राखेका छन् । त्यस्तै, केन्द्रीय सदस्य रमेश लेखकले क्रियाशील सदस्यता छानबिन समितिले गरेको कार्यसम्पादन र प्रतिवेदनमा उल्लेख भएको विवरण प्रस्तुत गरेका छन् । 

बैठकमा महाधिवेशनको कार्यतालिका नै प्रस्तावको रूपमा पेस गर्ने तयारी रहेको बताइएको थियो । तर, बिहीबारको बैठकमा कार्यतालिकामाथि छलफल भएको छैन । 

प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा निर्वाचन निर्देशिका, क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन र अन्य राजनीतिक दल समायोजन समितिले गरेका निर्णयहरूमाथि छलफल सुरु भएको जानकारी दिए । 

‘यो बैठकले पार्टीको आन्तरिक जीवनको विषयमा घनीभूत छलफल गरेर सहमति र एकताको माध्यमबाट एउटा निष्कर्ष दिनेछ, अर्कोतिर सत्तारुढ भइसकेपछिको यो पहिलो केन्द्रीय समितिको बैठक भएकाले सरकार सञ्चालन र सरकारका प्राथमिकताबारे समेत छलफल हुनेछ,’ उनले भने ।

सुझावित समाचार