नेपाली कांग्रेसको १४औँ महाधिवेशन समयमा नहुने निश्चितजस्तै भइसकेको छ। क्रियाशील सदस्यताको टुंगो अझै लागिसकेको छैन। यी सबैका लागि समय पर्याप्त थियो। तर,नेतृत्व व्यवस्थापनमा चुक्यो। अन्तिम अवस्थामा मात्र हतारो गर्ने परम्परालाई अहिलेको नेतृत्वले पनि परिवर्तन गर्न सकेको देखिएन। यही विषयलाई लिएर पछिल्लो समय शीर्ष नेतृत्वप्रति नेता तथा कार्यकर्ताको आक्रोश चुलिँदो छ। नेतृत्व तहमा बसेकाले समयलाई चिन्न नसक्दा पार्टीको वैधानिकतामाथि प्रश्न उठ्ने अवस्था आएको नेता–कार्यकर्तालाई लागेको छ।
कांग्रेस केन्द्रीय सदस्य तथा युवा नेता गुरुराज घिमिरे यसलाई नेतृत्वकै कमजोरीको रूपमा चित्रण हुने बताउँछन्। उनी समयमै दायित्व पूरा गर्ने काममा नेतृत्व चुकेको बताँउछन्। ‘एउटा महाधिवेशन सकिएपछि अर्को महाधिवेशनको तयारी थाल्नुपर्ने हो,’ उनी आक्रोश पोख्छन्, ‘१३औँ महाधिवेशन सक्नेबित्तिकै १४औँको तयारी थाल्नुपर्ने हो। प्रशस्त समय हुँदा पनि त्यो काम हुन सकेन ।’ उनी महाधिवेशनलाई विभिन्न बहाना देखाएर गर्न सकिएन भन्ने छुट नभएको बताँउछन्।
कांग्रेस विधानले महाधिवेशन भएको तीन वर्षसम्मलाई मात्र क्रियाशील सदस्यता वितरण र नवीकरणको काम रोकेको घिमिरे बताँउछन्। तीन वर्षपछि क्रियाशीलको काम अगाडि बढाएको अवस्थामा महाधिवेशन सम्पन्न गर्न कुनै समस्या नहुने भए पनि नेतृत्वले नचाहँदा हुन नसकेको तर्क गर्छन्। ‘महाधिवेशन हुने वर्ष मात्रै हामी क्रियाशील सदस्यता बाँड्न सुरु गरिन्छ। सदस्यता नवीकरण गर्न थालिन्छ,’ घिमिरे भन्छन्, ‘समयमा महाधिवेशनका प्रक्रिया अगाडि बढाइँदैन। नेतृत्वले दायित्व पूरा गरेन र यसलाई कर्तव्य ठानेनौँ। त्यसले गर्दा महाधिवेशन हुन ढिला भयो ।’
उनी यो कार्यशैलीलाई शीर्ष नेतृत्वको हेलचेक्य्राइँ नै भएको मान्छन्। उनी भन्छन्, ‘शब्दमा कांग्रेस लोकतान्त्रिक पार्टी भनियो। तर, अभ्यासमा हामीले आफूलाई लोकतन्त्रवादी ठानेनौँ।’
नेतृत्व नै रणनीतिक खिचातानीमा
अर्का केन्द्रीय सदस्य मीन विश्वकर्मा शीर्षस्त नेताहरूको रणनीतिक खिचातानिमा मात्र भुल्दा पार्टी व्यवस्थित हुन नसकेको बताएँछन्। ‘कसले कसलाई बढी दोष देखाउने भन्ने होडबाजीले अधिवेशन तोकिएको मितिमा गर्न सकिएन,’ विश्वकर्मा भन्छन्, ‘महाधिवेशन मात्र होइन पार्टीका संगठनसमेत यही कारणले पूर्ण हुन सकेनन् ।’
उनी नेतृत्व नै एक–अर्कालाई दोषारोपणको आधार खोजीमा लागिपरेको आरोप लगाउँछन्। शीर्ष नेतृत्व नै भागबन्डा, खिचातानी, दोषरोपणका आधार र बहानाबाजीको खोजीमा लागेको उनको भनाइ छ। ‘यस्तै विषयले क्रियाशील सदस्यता वितरण र नवीकरणमा अनावश्यक झगडा गरियो, बखेडा निकालियो,’ उनी भन्छन्, ‘त्यही आधारमा एक–अर्कालाई दोषारोपण गर्न पाइन्छ भन्ने हेतुले महाधिवेशन गराउने नेताहरू नै संलग्न भए यसमा।’ यस्तै विषयले महाधिवेशन ओझेलमा परेको उनको जिकिर छ। उनी नेतृत्वकै कारण पार्टीको वैधानिकतामाथि प्रश्न उठ्ने अवस्था आएकोमा चिन्ता व्यक्त गर्छन्। ‘प्रश्न उठे पनि वैधानिकता गुमिहाल्ने अवस्था आइसकेको छैन। एक–अर्कालाई लाञ्छना लगाउन आधारहरू खोज्ने र यसैलाई रणनीतिका रूपमा प्रयोग गर्ने हो भने वैधानिकता सकिने अवस्थामा पनि पुगिँदैन भन्ने स्थिति छैन ।’
लोकतान्त्रिक भन्ने अवस्थै नरहने भयो
कांग्रेस नेता तथा केन्द्रीय सदस्य पार्वती डिसी चौधरी शीर्ष नेताकै कारण कांग्रेसको लोकतन्त्रिक छवि धुमिल हुन पुगेको बताउँछिन्। लोकतान्त्रिक पार्टीका गतिविधि समयमा नहुँदा प्रश्न उठ्ने अवस्था आएकोमा उनको चिन्ता छ। ‘लोकतान्त्रिक पार्टीको महाधिवेशन समयमा नगर्दा झन्–झन् अप्ठ्यारो अवस्था आयो,’ उनी चिन्ता व्यक्त गर्छिन्, ‘क्रियाशील सदस्यताको विवाद कसले कसलाई छिर्के लगाउने भन्ने भयो ।’
चौधरी अन्तिम अवस्थामा क्रियाशील सदस्यता वितरण गर्दा स्वार्थ मिसिनु स्वाभाविक भएको मान्छिन्। क्रियाशील सदस्यता वितरणको विवाद अन्तिम अवस्थामा विवादित हुने कांग्रेसको नियति नै बन्न पुगेको उनलाई लाग्छ। तर, यसबारे नेतृत्वले जानकारी भएर पनि आफूलाई सच्याउन नसकेको गुनासो गर्छिन्। ‘लोकतान्त्रिक पार्टी भनेर दाबा गर्दा व्यवहारमा भने देखिन सकेन,’ चौधरी भन्छिन्, ‘ हामी पनि त्यो पद्धतिमा बस्नुपर्थ्यो, तर सकिएन ।’ चौधरी महाधिवेशनमा कोभिडको कारण परेको असरलाई पनि नकार्न नहुने तर्क गर्छिन्। ‘क्रियाशील सदस्यता सधैँको नियति बन्यो,’ उनी भन्छिन्, ‘लामो समयसम्म कोरोनाको असर रहँदा पनि सामान्य अवस्थामा जस्तो सहज भने रहेन ।’
सम्भव भए नियमित, नभए विशेष महाधिवेशन
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई सभापति शेरबहादुर देउवाले महाधिवेशन नगर्ने त होइनन् भन्ने चिन्ताले गाँजेको छ। जसोतसो पुरानैलाई कायम गरेर वैधानिकता जोगाएको अवस्थामा देउवाले विशेष महाधिवेशन टार्ने चिन्ता पनि उत्तिकै छ पौडेल पक्षलाई।
यसकारण पनि देउवाइतर पक्ष सम्भव भएसम्म महाधिवेशन नै गर्नुपर्ने पक्षमा देखिएको छ। राजधानीमा दुई दिनसम्म चलेको संस्थापनइतर पक्षको जिल्ला सभापतिहरूको भेलाले पनि यही निष्कर्ष निकालेको छ। बैठक सम्भव भएसम्म छिटो क्रियाशील सदस्यता टुंगो लगाएर तोकिएको अवधिमा नै महाधिवेशन सम्पन्न हुनुपर्ने पक्षमा देखियो।
बैठकमा सहभागीमध्ये नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला सभापति मधु आचार्य बैठकमा पार्टीको वैधताको विषयमा सबैको चिन्ता देखिएको बताउँछन्। ‘वैधतालाई जोखिममा पार्न हुँदैन भन्नेमा सबैको चिन्ता हो,’ उनी भन्छन्, ‘अधिवेशन गर्न सक्ने–नसक्नेबारेका विकल्प त केन्द्रीय नेतृत्वले छलफल गर्नुपर्याे ।’
उनी तत्काल महाधिवेशन सम्भव नभएको अवस्थामा भदौभित्र महाधिवेशन गर्नुपर्ने विषय छलफल भएको बताउँछन्। ‘गर्न सकिन्छ नियमित अधिवेशन गरौँ । क्रियाशील सदस्यतासम्बन्धी विषयलाई पारदर्शी बनाऊँ,’ उनले भने, ‘सकिँदैन भन्ने हो भने भदौभित्र विशेष महाधिवेशनमा जाऊँ, तर पार्टीको वैधतालाई जोखिममा नराखौँ भन्ने निष्कर्ष आएको छ।’