सेवाग्राहीहरूले सरकारले आवश्यक व्यवस्था नमिलाएकै कारण कोरोना संकटका वेला पनि भिडमा बसेर राहदानी लिन बाध्य भएको गुनासो गरेका छन् । मंगलबार बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभाग पुगेका सेवाग्राहीहरूले कोरोनाकालमा भौतिक दूरी कायम गर्न अपिल गर्दै आएको सरकारले आवश्यक व्यवस्था नमिलाएका कारण भिडमा बसेर राहदानी लिन बाध्य हुनुपरेको प्रतिक्रिया दिएका हुन् ।
छोरीको राहदानी लिन रुपन्देही देवदहबाट काठमाडौं आएका दिलबहादुर गुरुङले सरकार आफैँले आवश्यक व्यवस्था नमिलाएका कारण कोरोनाकालमा पनि भिडमा बसेर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । उनले आफैँले भौतिक दूरीमा बसेर काम गर्न नियम बनाउने सरकारले सेवाग्राहीलाई समेत भिडमा बसेर राहदानी लिने अवस्था बनाएको भन्दै सरकारको चर्को आलोचना गरे ।
उता, धनुषाबाट आएका धीरेन्द्रकुमार साहले दस्तुर तिरेर पनि समयमै राहदानी पाउने अवस्था नरहेको गुनासो गरे । उनले कोरोनाकालमा पनि राहदानी लिनका लागि सामाजिक दूरी कायम गर्ने व्यवस्था सरकारले गर्न नसकेको, सोधपुछ गर्ने ठाउँसमेत विभागमा नभएकाले आफूहरू अलमलमा परेको पनि बताए । राहदानी नवीकरणका लागि बिहानै पुगेका भक्तपुर दुवाकोटका तेजबहादुर कार्कीले पनि भिडमा बसेर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताए ।