पुष्प व्यवसायी सरकारको विरोधमा उत्रिए

बुधबार, २० साउन, २०७८
डिजिटल संस्करण

अवैैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य वस्तुहरू आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीले सरकारको चर्को विरोध गर्दै र्याली निकालेका छन् । फ्लोरिकल्चर एसाेसिएसन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघको आह्वानमा अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य वस्तुहरू आयात गर्ने कामलाई रोक्न नसकेको भन्दै व्यवसायीहरूले सरकारविरुद्ध र्यालीसहितको प्रदर्शन गरेका हुन् ।

बुधबार दिउँसो ललितपुरको मानभवनमा विरोध प्रदर्शनमा उत्रिएका उनीले आफूहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्दैै ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई ज्ञापनपत्रसमेत बुझाएका छन् । ज्ञापनपत्रमा अवैध ढंगले करछली गरेर नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुहरू आयात गर्नेमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गरिएको एसाेसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठले जानकारी दिए ।

उनले कोरोनाका कारण थला परेको नेपालको पुष्प व्यवसायलाई सरकारले बेवास्ता गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे । स्वदेशी पुष्प व्यवसायको विकास र प्रवर्द्धनका लागि ठोस योजना ल्याउन नसकेको, भारतलगायतका मुलुकबाट आयातीत अवैध पुष्प व्यापारलाई नियन्त्रण गर्न सरकारले नसकेकोमा पुष्प व्यवसायीहरूको आक्रोश छ । पुष्प व्यवसायमा नेपाल आत्मनिर्भर हुन सक्ने अवस्था हुँदाहुँदै पनि सरकारले त्यस खालको वातावरण बनाउने काम नगरेको व्यवसायीहरूको आरोप छ ।

सुझावित समाचार