सरकारले चालू आर्थिक वर्ष ०८३/८४ मा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँबराबारको धान खरिद गर्ने भएको हो।
धान खरिद गर्ने निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत पर्ने भएकाले कृषि मन्त्रालयले समन्वय गरेर धान खरिद पक्रिया अघि बढाउन आग्रह गर्ने भएको कृषिमन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ। खरिद प्रक्रिया दसैँ र तिहारको बिचमा सुरु गर्ने उद्योग मन्त्रालयको योजना छ।
आर्थिक वर्ष ०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य मोटाको प्रति क्विन्टल तीन हजार ६६० र मध्यमको प्रतिक्विन्टल तीन हजार ८६० रुपैयाँ तोकिएको छ।
सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया अघि बढाउँदा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता कम हुने मन्त्री चौधरीको अपेक्षा छ।