काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८१ हजार पाँच सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला दुई लाख ७८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
दसैँको लामो बिदापछि खुलेको बजारमा आइतबार सुनको मूल्यमा ठुलो गिरावट आएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ११ हजार सात सय रुपैयाँले घटेको थियो। त्यसअघि कात्तिक २ गते छापावाल सुन प्रतितोला दुई लाख ९० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेर तीन हजार ९९५ रुपैयाँ पुगेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला २३० रुपैयाँले घटेर तीन हजार ९५५ रुपैयाँमा झरेको थियो।
कात्तिक २ गते चाँदीको मूल्य प्रतितोला चार हजार १८५ रुपैयाँ कायम रहेको थियो।