खोप केन्द्रमै कोरोना संक्रमणको डर

आइतबार, १७ साउन, २०७८
डिजिटल संस्करण
खोप केन्द्रमै कोरोना संक्रमणको डर

बेसीशहर नगरपालिका ७ को आधारभुत स्वास्थ्य केन्द्रमा शुक्रबार खोप लगाउन लाइन बसेका सर्वसाधारण। तस्बिर : नयाँ पत्रिका

बेंसीसहर नगरपालिका– ७ की कमला घलेले बेंसीसहर नगरपालिका– ७ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रबाट तीन घन्टा लाइन लागेर शुक्रबार कोरोनाविरुद्धको खोप लगाइन्।  भिडभाड पार गरेर खोप लगाएको उनी बताउँछिन्। उनले भनिन्, ‘भिडमा धकेलाधकेल गरेर लाइनमा बस्दा कोरोना सर्छ कि भनेर डराइडराई खोप लगाएँ ।’ 

कमला भन्छिन्, ‘खोप लगाउने ठाउँमा नागरिकले सरकारी मापदण्ड ‘भौतिक दूरी’ समेत कायम गरेका थिएनन्। खोप केन्द्रमा पुगेका कतिपयले त मास्कसमेत लगाएका थिएनन्।’ गाउँका स्वास्थ्य चौकीदेखि सदरमुकामको जिल्ला अस्पतालमा पनि खोप लगाउनेको भिड देखिन्छ। 

भौतिक दूरी कायम गर्न भनिए पनि खोप लगाउँदा भिडभाड नै भएको शिक्षक काशीनाथ अधिकारी बताउँछन्। पछिल्लो समय ‘रुघाखोकीका धेरै बिरामी छन्, उनीहरूलाई परीक्षण गर्दा कोरोना संक्रमण देखिएको छ,’ उनले भने, ‘खोप लगाउने ठाउँमा नै अत्यधिक भिड छ। 

जिल्लामा निषेधाज्ञा खुकुलो भएर भिडभाड, आउजाउ बढेपछि फेरि रुघाखोकी, ज्वरोका बिरामी बढ्न थालेका छन्। भिडमा लाइन लाग्दा कोही संक्रमित भएको भए सर्छ कि भन्ने डर भयो बेंसीसहरकी सिन्धु पौडेल भन्छिन्। भौतिक दूरी कायम गर्न भने पनि भिड बढी भएकाले सम्भव थिएन। 

लमजुङमा शुक्रबार र शनिबार ५० वर्षमाथिका उमेर समूहका पहिलो मात्रा लगाउन बाँकी रहेका, शिक्षक, कर्मचारी, जनप्रतिनिधि, अपांगता भएका व्यक्ति, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सार्वजनिक सवारी चालक/सहचालक, खोप अनिवार्य गरेका विदेशमा जाने नेपालीलाई लक्षित गरी खोप लगाएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए। 

लमजुङमा १० हजार डोज भेरोसेल खोपको पहिलो मात्रा आएको स्वास्थ्य कार्यालयका खोप अधिकृत यम बरालले बताए। जिल्लामा पछिल्लो समय मृत्युदर घटे पनि परीक्षण गरिएकोमा संक्रमण दर घटेको छैन।  जिल्लामा कोरोना संक्रमितको संख्या दुई हजार तीन सय ३० पुगेको छ। जिल्लाका दुई हजार एक सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल एक सय ८३ जना संक्रिय संक्रमित छन्। हालसम्म कोरोना संक्रमणबाट लमजुङका ३६ जनाले ज्यान गुमाइसकेका छन्। 

See More On

सुझावित समाचार