महाधिवेशनबारे सिटौलाको टिप्पणी : समयमै हुँदैन भन्ने थाहा छ, भन्न तयार कोही छैनन्

शुक्रबार, ८ साउन, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले साउन १२ गतेबाट अधिवेशन हुन्न भनेर सबैलाई थाहा भए पनि यथार्थ भन्न डराउनुपर्ने अवस्था रहेको बताएका छन् । क्रियाशील सदस्यकै टुंगो नलागेको अवस्थामा वडाको अधिवेशन नहुने निश्चित भइसकेको भए पनि अधिवेशन हुँदैन भनेर कसैले पनि नभनेको भन्दै नेता सिटौलाले ‘कांग्रेस यथार्थ भन्न डराउने अवस्थामा’ पुगेको टिप्पणी गरेका हुन्।

‘आज हाम्रो पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्यो । बैठकमा सभापतिजी र रामचन्द्रजी दुवैले भदौमै जसरी पनि महाधिवेशन हुन्छ भन्नुभयो । अब पहिले तोकेको मितिमा महाधिवेशन हुँदैन भनेर सबैलाई थाहा छ । तर, कोही पनि हुँदैन भन्न तयार छैनन्,’ सिटौलाले भने, ‘१२ गते अधिवेशन हुँदैन भन्ने थाहा छ । तर, औपचारिक रूपमा त मैले पनि भन्नुहुन्न । किनभने निर्णय भएको छैन । यथार्थ त हुन्न भन्ने नै हो । तर, यथार्थ भन्न डराउने कांग्रेस भइएको छ ।’

कांग्रेस नेता गुरुराज घिमिरेको कवितासंग्रह ‘मृत्युसँगको साक्षात्कार’ विमोचनपछि घिमिरेप्रति लक्षित गर्दै नेता सिटौलाले भने, ‘गुरु भाइले कवितामा अन्तर्मनको कुरा बोल्नुभएको छ। हाम्रो पार्टीमा पनि अन्तर्मनको आवाज बोल्न सक्ने नेताको खाँचो छ । म उहाँलाई कवितामा जस्तै राजनीतिमा पनि अन्तर्मनको कुरा बोल्न सक्ने नेता बन्नुस् भन्ने कामना गर्दछु।’

सुझावित समाचार