खोपको अभावमा नागरिक तड्पिनुपर्दैन : प्रधानमन्त्री (भिडियोसहित)

सन् २०२१ भित्र सबै जनतालाई खोप

आइतबार, २७ असार, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले कोभिड– १९ विरुद्ध लगाइने खोपको अभावमा नागरिक तड्पिनु नपर्ने स्पष्ट पारेका छन् । नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अधिकतम् प्रयास गरेर जनताको जिउज्यानको सुरक्षामा गर्न सरकार गम्भीरताका साथ लागिरहेकाले नियमित रूपमा खोप आइरहने विश्वास दिलाए ।  

प्रधानमन्त्री ओलीले भने, ‘भ्याक्सिन उपलब्ध गराएका छौँ, भ्याक्सिन आइरहेको छ, हिजो आयो, भोलि पनि आउँछ, त्यसपछि पनि आउँछ, जतिसक्दो चाँडो ठूलो संख्यालाई खोप उपलब्ध गराउने कुरामा नयाँनयाँ सम्झौताका लागि प्रयास भइरहेको छ ।’

उनले यस वर्षको अन्तिम (सन् २०२१) भित्र सबै जनतालाई खोप लगाइसक्ने योजना सार्वजनिक गरे । प्रधानमन्त्री ओलीले भने, ‘अब खोपको अभावबाट हामी तड्पिनुपर्ने अवस्था आउँदैन, केही समय त्यस्तो स्थिति आउला कि जस्तो देखिएको थियो, अब नपाउने स्थिति हामीकहाँ छैन, सबैलाई खोप लगाएर सुरक्षित राख्न सक्छौँ ।’ उनले स्वास्थ्य क्षेत्रमा उपचारका सुविधा बढाउँदै नेपाली जनताको जीवनरक्षामा सरकार सफल हुने विश्वास व्यक्त गरे ।    

कोभिडको तेस्रो–चौथो लहरतर्फ सचेतता    

‘जीवन पहिला’ भन्ने नाराका साथ कोभिडविरुद्धको लडाइँ अघि बढाइएको उनले स्मरण गराए । प्रधानमन्त्रीले भने, ‘जनताको जीवन नै सबैभन्दा ठूलो प्राथमिकताको विषय हो, त्यो नै ठूलो सम्पत्ति हो र जीवनको रक्षा सबैभन्दा ठूलो कर्तव्य हो ।’ उनले स्वास्थ्य सेवाको पर्याप्तता नभएको र साधन स्रोतको न्यूनता रहेको नेपालमा ठूलो सफलताका साथ कोभिड नियन्त्रण गरिएको बताए । कोभिडको तेस्रो–चौथो लहर चल्छ भन्ने कुरा आएकोतर्फ सचेत गराउँदै प्रधानमन्त्रीले नागरिकलाई लापरबाही नगरी सजगता अपनाउन आग्रह गरे ।  

वीर अस्पतालकाे विविध कारणले सञ्चालन, परिचालन र विकास अपेक्षाकृत हुन नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै उनले मानवीय र सेवाभावबाट प्रेरित भएर सम्पूर्ण शक्ति परिचालन गरी प्रभावकारी सेवामा जुट्न अस्पताल प्रशासनलाई निर्देशन दिए । उनले बिरामी र आफन्तसँग गरिने व्यवहारमा सुधारको खाँचो औँल्याउँदै स्वास्थ्य बलियो राख्न खानपिन र आहारविहारमा सुधार गर्न नागरिकलाई सुझाब दिए ।

सुझावित समाचार