विपक्षीको असहमतिबीच बागमती प्रदेश सभा बैठक आह्वान

बुधबार, २३ असार, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, प्रतिपक्षी कांग्रेसले लगातार अवरुद्ध गर्दै असहमति राखिरहेको अवस्थामा बागमती प्रदेश सभा बैठक पुनः आह्वान गरिएको छ । आगामी आर्थिक वर्ष ०७८\\७९ को बजेटको विरोधसँगै लगातार बैठक अवरोध गर्दै आएको माओवादी र कांग्रेसको असहमतिबीच २६ असारमा बैठक आह्वान गरिएको छ । 

१ असारमा बजेट पेस भएपछि १७ र १८ असारमा बजेटमाथिको छलफलका क्रममा १९ असारबाट विपक्षी दलहरूले लगातार बैठक अवरोध गर्दै आएका छन् । पछिल्लोपटक २१ असारमा सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका थिए ।

विपक्षी र सरकारबीच सहमतिका प्रयास भइरहे पनि आफ्नो मागबाट पछि नहट्ने माओवादी केन्द्र र कांग्रेसले अडान राखेका छन् । निरन्तर बैठक अवरोध र विपक्षीको माग नटुंगिएको अवस्थामा २६ असारको दिउँसो ३ बजे बोलाइएको बैठक पनि सुचारु हुन नदिने रणनीतिमा विपक्षी अघि बढेका छन् । ‘हाम्रा माग सम्बोधन नभएसम्म सदनबाट बजेट पास हुन दिन्नौँ,’ माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले भने । 

विपत् व्यवस्थापन र कोभिड महामारीलाई बेवास्ता गर्दै सरकारले बजेट ल्याइएको, समपूरक बजेट र योजनाको बाँडफाँड न्यायोचित वितरण नभएको तथा प्रदेश सरकारले आफैँ आमसञ्चार गृह सञ्चालन गर्ने विषय फिर्ता लिनुपर्ने भन्दै प्रतिपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन् । 

१५ असारको दिउँसो १ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ । ‘उक्त बैठकबाट सदनलाई कसरी सञ्चालन गर्ने भन्ने टुंगो लगाउनेछ,’ प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले भने ।
 

सुझावित समाचार