चुनावी अभियानमा बाइडेनले क्युबासँगको सम्बन्धमा ओबामाको नीति पछ्याउने बताएका भए पनि त्यसो हुन सकिरहेको छैन
जुन २३ मा संयुक्त राष्ट्र संघका १८४ सदस्यले क्युबामाथि ६० वर्षदेखि अमेरिकाले लगाइरहेको नाकाबन्दी अन्त्य गर्ने प्रस्तावनाको पक्षमा मतदान गरे । यो अमेरिकाको २९औँ कूटनीतिक हार हो । प्रस्तावनाको विपक्षमा मतदान गर्ने अमेरिका र इजरायल मात्र थिए । कोलम्बिया, युक्रेन र ब्राजिलका प्रतिनिधि भने मतदानमा अनुपस्थित रहे । सन् १९९२ देखि प्रत्येक वर्ष क्युबाले अमेरिकी नाकाबन्दीविरुद्ध प्रस्ताव ल्याउने गरेको छ (सन् २०२० मा महामारीका कारण मतदान भएन) । हरेकपटक प्रस्तावनाको पक्षमा उलेख्य समर्थन आउँछ भने अमेरिका र इजरायलले मात्र सधैँ प्रस्तावनाविरुद्ध मतदान गर्छन् । सन् २०१९ मा भने ब्राजिलले पनि अमेरिकालाई साथ दिएको थियो ।
सन् २०१६ मा क्युबासँग सहकार्य गर्ने बाराक ओबामाको नीतिका कारण अमेरिका र इजरायल पनि मतदानमा अनुपस्थित रहे । त्यस वर्ष क्युबाली प्रस्तावका पक्षमा सबैभन्दा धेरै १९१ मुलुकले समर्थन जनाएर आर्थिक नाकाबन्दीको विरोध जनाए । तर, सन् ०१७ मा राष्ट्रपति भएका डोनाल्ड ट्रम्पले ओबामाको नीतिलाई उल्टाइदिए । ट्रम्प सन् १९६१ मा क्युबाविरुद्ध ‘बे अफ पिग्स’ आक्रमणको अनुमति दिने राष्ट्रपति निक्सनपछिकै सबैभन्दा कठोर राष्ट्रपति बने । अक्सफार्मको रिपोर्टअनुसार ट्रम्पले आफ्नो शासनकालमा क्युबाविरुद्ध २४० कदम उठाए ।
क्युबामाथिको व्यापार नाकाबन्दी हटाउने कार्य राजनीतिक रूपमा निकै जटिल हुनेछ । किनकि, यसका लागि अमेरिकी कंग्रेसबाट स्वीकृति लिनुपर्छ । सम्भवतः क्युबासँग उन्नत र चतुर नीति अंगीकार गरेर नाकाबन्दी खारेज नगरीकनै सम्बन्ध सुधार गर्न सकिन्छ ।
ट्रम्पले शासनको अन्तिममा क्युबालाई आतंकवादलाई सघाउने देशको सूचीमा समेत राखिदिएका थिए । त्यसयता वासिंटन र हवानाबीचको सम्बन्धमा उलेख्य प्रगति भएको छैन । चुनावी अभियानमा बाइडेनले क्युबासँगको सम्बन्धमा ओबामाको नीति पछ्याउने बताएका थिए । ‘क्युबाली र तिनको परिवारलाई असर गर्ने ट्रम्पको असफल नीतिलाई उल्टाउनेछु,’ बाइडेनले सेप्टेम्बरमा वाचा गरेका थिए । राष्ट्रपति बनेलगत्तै बाइडेनले क्युबासम्बन्धी ट्रम्पका दर्जनौँ नीतिलाई खारेज गरिदिए । तर, यसका बाबजुद क्युबामा अझै पनि ट्रम्पकै नीति लागू छ । ट्रम्पले अंगिकार गरेको क्युबासम्बन्धी नीतिलाई बाइडेन किन उल्टाउन चाहँदैनन् ?
यस विषयमा जानकारका अनुसार अहिले बाइडेनको मुख्य ध्यान अमेरिका र क्युबाबीचको सम्बन्धलाई सम्बोधन गर्नेभन्दा घरेलु मुद्दालाई सल्ट्याउनेमा छ । बाइडेनलाई आफ्ना नीति सफलतापूर्वक लागू गर्न केही रिपब्लिकन विधायकसँग सहकार्य वा सम्झौता गर्नुपर्ने हुन्छ । विशेष क्युबाली मूलका अमेरिकी रिपब्लिकन विधायक र डेमोक्रेट सिनेटर बब मेनेन्देजमाथि उनको नजर छ । डेमोक्रेट सिनेटर भएर पनि मेनेन्देज रिपब्लिकनको क्युबाली सरकारविरोधी भावनालाई समर्थन गर्छन् । तर, ढिलोचाँडो बाइडेनले क्युबासम्बन्धी ट्रम्पका नीतिलाई निरन्तरता दिन बन्द गनुपर्नेछ । र, बाइडेनसँग क्युबासँगको सम्बन्धलाई बदल्न सक्ने साधन पनि छ । साथमा उनीसँग ‘मियामीका क्युबाली मूलका रिपब्लिकन मतदाता’सँग रहेको राजनीतिक शक्तिको पारस्परिक सम्बन्ध बदल्ने सामर्थ्य पनि छ ।
बाइडेनले सन् २०२० को चुनावमा फ्लोरिडामा हारेकाले उनले यसमा पनि ध्यान दिनेछन् । फेब्रुअरीमा क्युबाली सरकारले स्वरोजगार श्रमिकका लागि २००० भन्दा बढी क्षेत्र खुला गरेको छ । जम्मा १२४ व्यवसाय मात्र सरकारद्वारा सञ्चालित कम्पनीका लागि सुरक्षित राखिएको छ । यस महिनाको सुरुमा क्युबाली मन्त्रिपरिषद्ले साना तथा मध्यम आकारका व्यवसाय र स्वरोजगारसम्बन्धी कानुन ल्याउने घोषणा गर्यो । यसले क्युबामा निजी क्षेत्रको वृद्धि गराउने र समग्र अर्थतन्त्रलाई नै उचाल्ने अनुमान छ । मार्चमा क्युबाले विदेशमा रहेका क्युबालीलाई देशभित्र लगानी गर्न आह्वान गर्यो । खबर सुन्दा मलाई यस कदमको विरोधाभास ख्याल भएको थियो । अमेरिकामा बसोवास गर्ने क्युबालीले नाकाबन्दीका कारण क्युबामा लगानी गर्न पाउँदैनन् । तर, अहिले क्युबामा बढिरहेको स्वरोजगार श्रमिकले तिनका अमेरिकी आफन्तकै लगानीमा काम गरिरहेका छन् ।
क्युबामाथि लागेको व्यापार नाकाबन्दी हटाउने कार्य राजनीतिक रूपमा निकै जटिल हुनेछ । किनकि यसका लागि अमेरिकी कंग्रेसबाट स्वीकृति लिनुपर्छ । सम्भवतः क्युबासँग उन्नत र चतुर नीति अंगिकार गरेर नाकाबन्दी खारेज नगरीकनै सम्बन्ध सुधार गर्न सकिन्छ । ओबामाले पनि क्युबामाथि लागेको नाकाबन्दी खारेज गरेका थिएनन्, तर उनको नीतिमार्फत व्यापारका लागि विशेष लाइसेन्स दिन सकिन्थ्यो । यदि बाइडेनले पनि क्युबाली मूलका अमेरिकीलाई क्युबामा लगानी गर्न दिने विशेष लाइसेन्स खुलाए भने यसले तीनवटा समस्या समाधान गर्नेछ । पहिले त यसबाट क्युबाको निजी व्यवसायलाई टेवा पुग्छ । अर्को कठिन विषय सल्टाउने जिम्मा क्युबा र मियामीमा बस्ने मानिसकै हातमै पुग्छ र क्युबाली मूलका अमेरिकीले तिनको पुख्र्यौली मुलुकको बजारमा वैधानिक रूपमा लगानी गर्न सक्छन् ।
(मिगेल राजनीतिक विश्लेषक हुन्)
सिएनएनबाट