युरोकप २०२० : प्रिक्वार्टरफाइनलमा पुग्ने पहिलो टोली इटाली

शुक्रबार, ४ असार, २०७८
डिजिटल संस्करण
युरोकप २०२० : प्रिक्वार्टरफाइनलमा पुग्ने पहिलो टोली इटाली

स्विट्जरल्यान्डविरुद्धको खेलमा गोल गरेपछि खुसी मनाउँदै इटालीका खेलाडी

दुई खेलमा लगातार समान ३–० को जितसँगै इटाली युरो २०२० को प्रिक्वार्टरफाइनलमा पुग्ने पहिलो टोली मात्रै बनेन आफूलाई उपाधिको बलियो दाबेदारका रूपमा समेत प्रस्तुत गरेको छ 

युरोकप २०२० को प्रिक्वार्टरफाइनलमा पुग्ने इटाली पहिलो टोली बनेको छ । बुधबार राति भएको खेलमा स्विट्जरल्यान्डविरुद्ध ३–० गोलको प्रभावशाली जित हात पार्दै इटालीले प्रतियोगिताको नकआउट चरणको यात्रा निश्चित गरेको हो ।

प्रतियोगितामा रोबर्टाे मान्सिनीको टोलीले आफ्नो पहिलो खेलमा टर्कीविरुद्ध पनि ३–० कै जित हात पारेको थियो । दुई खेलबाट दुई जितसहित ६ अंक बनाएको इटाली समूह ‘ए’को शीर्ष स्थानमा छ ।

रोमस्थित घरेलु मैदानमा भएको खेलमा इटालीलाई यो महत्वपूर्ण जित दिलाउन सास्सोलोका मिडफिल्डर मान्युइल लोकाटेल्लीले दुई गोल गरे । अर्काे गोल लाजियोका स्ट्राइकर सिरो इमोबिलले थपे । 

इटालीको पासिङ र ‘प्रेसिङ’ स्विट्जरल्यान्डको तुलनामा निकै सशक्त थियो । त्यही दबाबमा इटाली लगातार दोस्रो प्रभावशाली जित निकाल्न सफल भयो । स्विट्जरल्यान्डले भने इटालीको पोस्टमा विरलै आक्रमण गर्न सकेको थियो ।

सुरुवाती दुई खेलको प्रदर्शनबाट इटालीलाई उपाधिको प्रमुख दाबेदार टोलीका रूपमा हेर्न थालिएको छ । इटालीले लामो समयदेखि सशक्त प्रदर्शन गर्दै आइरहेको छ । इटालीले पछिल्ला १० प्रतिस्पर्धात्मक खेलमा गोल व्यहोरेको छैन । अर्थात् पछिल्लो एक हजार मिनेटसम्म इटालीलाई कुनै पनि टोलीले गोल गर्न सकेको छैन । यस्तै, इटाली आफ्नो पछिल्लो २९ खेलमा अपराजित छ ।

इटालीको बलियो रक्षापंक्ति र सशक्त आक्रमणमा स्विट्जरल्यान्ड निरिह देखिएको थियो । यही प्रदर्शनलाई आधार मान्ने हो भने प्रतियोगिताअघि बढ्दै जाँदा इटालीले आफूलाई थप परिस्कृत गर्ने देखिएको छ ।

यो प्रतियोगिताभन्दा पहिले इटालीले युरोकपको एकै खेलमा तीनभन्दा बढी गोल गरेको थिएन । यद्यपि, जारी प्रतियोगिताको सुरुवाती दुई खेलमै इटालीले तीन गोलको अन्तरले जित हात पारेको छ । जितका बाबजुद इटालीका लागि यो खेलबाट एउटा खराब समाचार पनि पाएको छ । इटालीका मुख्य रक्षक एवं कप्तान जियोर्जियो चिलेनी चोटग्रस्त बनेका छन् । उनलाई ह्यामस्ट्रिङ भएको अनुमान गरिएको छ । स्विट्जरल्यान्डविरुद्ध उनले पनि गोल गरेका थिए, यद्यपि भार (भिडियो असिस्टेन्ट रेफ्री)ले गोल गर्नु पहिले उनले हातले बल छोएको देखाएको थियो ।

त्यसपछि खेलको २६औँ मिनेटमा लोकाटेल्लीले इटालीलाई अगाडि बढाएका थिए । उनले आफैँले सुरुवात गरेको एउटा सुन्दर ‘मुभ’मा डोमेनिको बेरार्डीले दिएको ‘कटब्याक’ पासलाई टेप इनमा गोल गरेका थिए । पहिलो हाफमा इटाली १–० ले अगाडि रह्यो । 

खेलको ५२औँ मिनेटमा निकोलो बारेल्लाको सहयोगमा गोल गर्दै लोकाटेल्लीले इटालीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको अन्त्यतिर अर्थात् ८९औँ मिनेटमा इमोबिलले गोल गर्दै घरेलु टोलीको जित ३–० ले निश्चित गरेका हुन् । 

खेलमा स्विट्जरल्यान्डले एउटै मात्र राम्रो अवसर पायो, जसमा परिवर्तित खेलाडी स्टेभेन जुबेरको प्रहारलाई इटालीका गोलरक्षक जियनलुइजी डोन्नारुम्माले सहज नियन्त्रणमा लिएका थिए । अघिल्लो खेलमा वेल्ससँग बराबरी खेलेको स्विट्जरल्यान्ड दुई खेलबाट एक अंक जोड्दै समूहको तेस्रो स्थानमा रहेको छ । बुधबार त्यसअघि भएको खेलमा टर्कीलाई पराजित गरेको वेल्स दुई अंकबाट चार अंक जोड्दै दोस्रो स्थानमा छ । टर्की अंकविहीन छ ।

युक्रेनको पहिलो जित
एजेन्सी÷ युक्रेनले युरोकप २०२० मा पहिलो जित हात पारेको छ । समूह ‘सी’अन्तर्गत बिहीबार साँझ बुचरेस्टमा भएको खेलमा युक्रेनले पहिलोपटक युरोकप खेलिरहेको नर्थ म्यासेडोनियालाई २–१ गोलले पराजित गरेको हो । 

जितसँगै युक्रेनले दुई खेलबाट तीन अंक जोडेको छ । यो जितपछि युक्रेनले समूह सीबाट नकआउट चरण प्रवेश गर्ने सम्भावनालाई जीवितै राखेको छ । युक्रेन आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ३–२ ले पराजित भएको थियो ।

एन्ड्री सेभचेन्कोको टोली युक्रेनले युरोकपमा लगातार ६ खेलको पराजयपछि पहिलो जित हात पारेको हो । युक्रेनलाई खेलको २८औँ मिनेटमा कप्तान एन्ड्री यार्माेलेन्कोले १–० ले अघि बढाएका थिए । कर्नरमार्फत आएको बललाई म्यासेडोनियाको कमजोर रक्षापंक्तिको फाइदा उदाउँदै कप्तान एन्ड्रीले हेडिङ गोल गरेका थिए । 

युक्रेनले त्यसको पाँच मिनेटपछि उनै कप्तान एन्ड्रीको सहयोगमा अग्रता दोब्बर बनायो । वेस्ट हामका फर्वाड एन्ड्रीले उपलब्ध गराएको बललाई रोमन यारेम्चुकले गोलमा परिणत गराएका थिए । 

खेलको ५७औँ मिनेटमा पेनाल्टी अवसर सदुपयोग गर्दै इक्जान एलिवस्कीले म्यासेडोनियाका लागि एक गोल फर्काए । यद्यपि, त्यसपछिको समयमा अरू गोल थप्न नसक्दा म्यासेडोनिया पराजय टार्न असफल रह्यो । खेलको अन्त्यतिर युक्रेनका रुस्लान मालिनोभ्स्कीले प्रहार गरेको पेनाल्टी प्रहारलाई असफल बनाउँदै गोलरक्षक स्टोल दिमित्रिइभ्स्कीले म्यासेडोनियाको फराकिलो हार टारेका थिए ।

See More On

सुझावित समाचार