विद्यालयका पुस्तकमा पुरानै नक्सा

बिहिबार, २७ जेठ, २०७८
डिजिटल संस्करण

अक्सब्रिज, कोसेली, रिडमोर पब्लिकेसनका पुस्तकमा पुरानै नक्सा प्रयोग

काठमाडौंका केही पुस्तक पब्लिकेसनहरूले नेपालको नयाँ चुच्चे नक्साको सट्टा पुरानो प्रयोग गरी पाठ्यसामग्री तयार गरी बिक्रीवितरण गरेको पाइएको छ । जसमध्ये केही पब्लिकेसनलाई पाठ्यक्रम विकास केन्द्रले स्पष्टीकरण सोधेको छ । तर, अझै पनि केहीले खुला रूपमा यस्ता सामग्री बिक्रीवितरण गर्दै आएका छन् ।

अक्सब्रिज, कोसेली, रिडमोर पब्लिकेसनलगायतका पुस्तकमा पुरानै नक्सा प्रयोग गरेको पाइएको छ । केन्द्रले कोसेली पब्लिकेसनलाई पुस्तकसहित कार्यालयमा आउन निर्देशन दिएको छ । रिडमोर पब्लिकेसनलाई केन्द्रले स्पष्टीकरण सोधेको छ । अक्सब्रिज पब्लिकेसनको जेनरल नलेज पुस्तकमा नेपालको पुरानो नक्सा प्रयोग गरेको छ । सो पुस्तक धमाधम बिक्री भएको छ । यसरी अपडेट नगरेको पुस्तकलाई ठूला संस्थागत विद्यालयले समेत प्रयोग गर्दै आएका छन् ।

रिडमोर पब्लिकेसनले स्टक भन्दै पुरानो नक्सा भएको पुस्तक बिक्री गर्दै आएको छ । केन्द्रले स्पष्टीकरण सोधेपछि मौज्दातको पुस्तक रहेको र अब बिक्री नगर्ने जवाफ केन्द्रमा पठाएको छ । पैसाको लोभमा कलिला बालबालिकाको मनोविज्ञान बिगार्ने काम गरेको भन्दै आलोचनासमेत हुने गरेको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले अहिले कानुनअनुसार नचल्ने पब्लिकेसनलाई कारबाही हुने बताए । 

परिमार्जन नभएका सामग्री प्रयोग नगर्न केन्द्रको निर्देशन
पाठ्यक्रम विकास केन्द्रले नेपालको संशोधित मानचित्र समावेश नगरेको, पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत सूचीमा नरहेका÷स्वीकृति प्रदान नगरिएका र नियमअनुसार परिमार्जन नभएका पाठ्यसामग्री प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरेको छ । स्वीकृत प्राप्त सामग्रीहरूमा नेपालको संशोधित नक्सा समावेश नगरी तथा विद्यालय तहको पाठ्यक्रमअनुसार प्रचलित कानुनबमोजिम स्वीकृत प्राप्त गरेर मात्र पाठ्यसामग्रीको प्रकाशन, बिक्रीवितरण गर्न अनुरोध गरेको छ । कानुनप्रतिकूल गएमा कारबाही गर्नेसमेत चेतावनी दिएको छ ।

पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि उनले सो निर्देशन दिएका हुन् । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बुधबार सम्पन्न ८८औँ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र विक्रेतालाई कानुनी दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न

पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिए । उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्साअंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुनअनुसार कारबाही गर्न केन्द्रलाई निर्देशन दिए । ‘तपाईहरू अनुगमन गर्नुस्, देशको आँच पुग्ने गरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्,’ श्रेष्ठले भने ।

See More On

सुझावित समाचार