सिकार खेल्ने क्रममा बन्दुकको गोलीले आफ्नै साथीको मृत्यु भएपछि फरार भएका चारजना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको केराबारी गाउँपालिका– ३ स्थित बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा ८ वैशाख साँझ सिकार खेल्ने क्रममा ३२ वर्षीय हस्तकुमार राईलाई भरुवा बन्दुकको गोली लागेर मृत्यु भएपछि फरार भएका सोही ठाउँका ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धवीर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र मोरङ लेटाङ नगरपालिका– १ का १९ वर्षीय विपन लिम्बूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
प्रहरीले केराबारी र लेटाङको वनमा लुकाएर राखेको चार थान भरुवा बन्दुक पनि बरामद गरेको जिल्ला प्रहरी मोरङले जनाएको छ । सबैलाई प्रहरीले कर्तव्य ज्यान र खरखजाना कसुरमा कानुनी कारबाही चलाएको छ ।
घटनामा संलग्न २६ वर्षीय रुबिन लिम्बू र ३७ वर्षीयय गजेन्द्रबहादुर राईलाई पहिले नै प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारबाही चलाएको थियो । उनीहरू दुवैजना पुर्पक्षका लागि कारागारमा छन् ।
८ वैशाख साँझ वनमा संयुक्त रूपमा सिकार खेल्ने क्रममा साथी गजेन्द्र राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर हस्तबहादुरको मृत्यु भएको थियो ।