एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहका नेता घनश्याम भुसालले कारबाही र स्पष्टीकरण प्रकरणपछि पनि आफूले अझै पार्टी एकता जोगाउन अन्तिम प्रयास गरिरहेको बताएका छन् ।
संस्थापन पक्षले सोमबार वरिष्ठ नेता नेपाल र खनालसहित विघटित संसद्का ११ जना सांसदलाई साधारण सदस्यबाटै कारबाही गर्ने र भुसालसहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरिसके पनि भुसालले भने आफूसहितका दोस्रो तहका केही नेता पार्टी एकता जोगाउने अन्तिम प्रयासमै रहेको बताए ।
‘छलफल भइराखेको छ । आज पनि हामी पार्टी एकताकै पक्षमा छौँ भन्नेमा कुनै विवाद छैन । तर, कसरी एकता गर्ने भन्ने प्रक्रिया र जोड–कोणको तलमाथि मिलाउनेबारे अलिअलि कुराकानी भइरहेको छ, हिजो पनि आज पनि,’ भुसालले नयाँ पत्रिकासँग भने ।
प्रधानमन्त्री ओलीको पछिल्ला कदमले पार्टीलाई विभाजनतिरै लगे पनि पार्टी फुटाउने र नयाँ पार्टी गठन गर्ने विषयमा आफ्नो समूहमा कुनै निर्णय नभएको भुसालको प्रस्टीकरण छ ।
‘हिजोको परिस्थितिपछि पनि खास उद्देश्य भएको अपवादबाहेक जो नेकपा एमाले हो, उसले सामान्यतया आमरूपमा पार्टीमा एकता होस् भन्ने चाहना राखिरहेको छ । त्यसैले एकता होस् भन्ने नै लाग्छ,’ भुसालले भने, ‘तर, एकपछि अर्काे जसरी घटना हुँदै गएका छन्, त्यसले अप्ठ्यारो बनाइरहेको छ । संसद् विघटन भयो, स्पष्टीकरण सोधियो, कारबाही गरियो, त्यसले अवश्य सजिलो बनाएको छैन, हामीले विभाजनलाई टार्ने कोसिस गरिरहेका छौँ, म अहिले नै आज त एकताको स्पेस देख्दिनँ, तर म त्यसैको खोजीमा निरन्तर लागिरहेको छु ।’
खनाल र नेपालले कारबाही प्रकरणपछि ओलीले संविधान, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनप्रति गद्दारी गरेकाले कम्युनिस्ट आन्दोलनको पुनर्जागरणका लागि जुट्न कार्यकर्तालाई अपिल गर्दै नयाँ पार्टी गठनको संकेत गरे पनि भुसालले भने नयाँ पार्टी गठनको कुनै निर्णय नभएको प्रस्ट्याए ।
‘ओलीजीसँगको सम्बन्धका कारणले, पछिल्ला कदमले कतिपय कुरा बाहिर आए होलान् । तर, पार्टी विभाजन गर्ने, अर्को पार्टी खोल्ने कुनै निर्णय भएको छैन,’ भुसालले नयाँ पत्रिकासँग भने, ‘ओलीसँगको सम्बन्ध तिक्त भएकाले, प्रेसरले, ओलीका एकपछि अर्को कदमले पार्टी विभाजित भयो, सार्वजनिक मान्छेलाई राजनीतिक पार्टी चाहिन्छ भन्ने हिसाबले स्वतः मान्छेहरूले सोच्न सक्ने वा भन्ने कुरा त स्वाभाविक छ, तर अब हामीले अर्को पार्टी खोलौँ भन्ने कुनै निर्णय भएको छैन ।’
पार्टीभित्रको अन्तर्विरोधलाई उचित ढंगले समाधान गर्न नसकेको अवस्थामा भने वस्तुगत आवश्यकताले नयाँ पार्टी खोल्ने निर्णय भने अस्वाभाविक नहुने उनको भनाइ छ । ‘पार्टी वस्तुगत आवश्यकताले खोल्ने कुरा भयो । पार्टीभित्रको मामिला मिलेन भने मान्छेहरूले पार्टी खोल्छन् । अहिलेसम्म मामिला मिलेको छैन,’ उनले भने ।
भुसालले आफूसहितका १२ जनालाई स्पष्टीकरण सोधिएको भन्ने सुनिए पनि अहिलेसम्म पत्र प्राप्त नभएको र आफ्ना लागि पर्याप्त समय पनि नदिइएकाले जवाफ नदिने प्रस्ट्याए । ‘२४ घन्टा भन्ने कुरा सुने पनि अहिलेसम्म पत्र आएको छैन, अब त समय नै छैन । लेख्दा म सविस्तार रूपमा लेख्न चाहन्थेँ । एक हप्ता समय दिएको भए मैले लेख्न सक्थेँ पनि होला । २४ घन्टामा त लेख्न नसक्ने भएँ,’ उनले भने ।
संस्थापन पक्षले नितान्त व्यक्तिगत भेटघाटमा भएका कुरालाई पनि आफ्नो स्वार्थअनुकूल सहमति तोडेको प्रचार गराएर पार्टी एकताका प्रयत्नलाई कमजोर पार्न खोजेकोमा भुसालले आपत्ति जनाए ।