वनमन्त्री आले भन्छन्- म व्यापारी होइन, जनताको सेवक हुँ

मंगलबार, ११ जेठ, २०७८
डिजिटल संस्करण

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफू व्यापारी नभई जनताको सेवक भएको बताएका छन् । उनले जिल्ला अस्पताल डोटीमा चार कन्सन्ट्रेटरसमेत आफ्नै लगानीमा किनेर प्रदान गरेको बताउँदै भने, ‘म व्यापारी होइन, जनताको सेवक हुँ, छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन ।’ 

उनले भने, ‘अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका वेलामा  भ्रामक समाचार सम्प्रेषण हुनु आफैँमा नराम्रो हो, सकिन्छ भने सत्य समाचार लेखौँ, सकिँदैन भने गलत प्रचार नगरिदिऔँ ।’ महामारीका वेलामा आफ्ना नागरिकको ज्यान बचाउनु नेताहरूको धर्म र कर्तव्य भएको जनाउँदै  आफूले अन्य समयमा पनि बिरामी नागरिकलाई पटकपटक स्वास्थ्योपचारका लागि व्यक्तिगतदेखि सामूहिक सहयोग गर्दै आएको जानकारी दिए । 

अनुदानको अक्सिजन सिलिन्डरमा आफ्नो फोटो टाँसेर प्रचार गरेको भन्दै उनी विवादित बनेका छन्।  मंगलबार मन्त्री  आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिन्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा  आफूले किनेर दिएको स्पष्ट पारेका छन् । सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सिजन सिलिन्डर वितरण कार्यक्रममा मन्त्री आलेले विदेशीले दिएको नभई आफ्नै खर्चमा किनिएको बताए । 

मन्त्री आलेले आफ्नो व्यक्तिगत खर्चमा डोटीमा ६० थान अक्सिजन सिलिन्डर, एक लाख ५० हजार मास्क तथा सेती प्रादेशिक अस्पताल कैलालीमा ५० थान भरिएका अक्सिजन सिलिन्डर र  ५० हजार मास्क प्रदान गरेको उनको सचिवालयले जनाएको छ । 

सुझावित समाचार