कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्तिको दाबी पेस गर्नका लागि विपक्षी गठबन्धनका नेताहरू शीतलनिवास पुगेका छन् । कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र नेकपा एमालेको माधव नेपाल समूहका एक सय ४९ जना सांसदको हस्ताक्षरसहित नेताहरू शीतलनिवास पुगेका छन् ।
कांग्रेस सभापति देउवा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरू शीतलनिवास पुगेका हुन् । तर, राष्ट्रपतिसँग भेट्न पाइरहेका छैनन् । स्राेतका अनुसार विपक्षी दलका नेताहरू पुग्नुअगावै प्रधानमन्त्री केपी ओली राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री ओलीको भेटघाट चलिरहेको भन्दै विपक्षी गठबन्धनका नेताहरूलाई बाहिर पर्खाइएको छ ।
यसअघि सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा बसेर नेताहरूले कागज तयारी गरेका थिए । तर, कसको नेतृत्वमा के गर्न लागेको भन्नेबारे बोलेका छैनन् । विपक्षी गठबन्धनले देउवालाई प्रधानमन्त्री बनाउन प्रतिनिधिसभाका एक सय ४९ जना सांसदले हस्ताक्षर संकलन गरेको छ । जसमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२ र माधव नेपाल समूहका २७ जना सांसदले हस्ताक्षर गरेका छन् ।