विश्वासको मतमा प्रधानमन्त्रीलाई असफल बनाउने कांग्रेसको निर्णय, अध्यादेशबाट देश चलाउन खोजेकोमा आपत्ति (भिडियोसहित)

मंगलबार, २१ बैशाख, २०७८
डिजिटल संस्करण
विश्वासको मतमा प्रधानमन्त्रीलाई असफल बनाउने कांग्रेसको निर्णय, अध्यादेशबाट देश चलाउन खोजेकोमा आपत्ति (भिडियोसहित)

फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल कांग्रेसले विश्वासको मतमा प्रधानमन्त्री केपी ओलीलाई असफल बनाउने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले पार्टीका सांसदले विश्वासको मत नदिने र अन्य दलहरूसँग पनि छलफल गरेर विश्वासको मतमा ओलीलाई असफल बनाउने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । 

२७ वैशाखका लागि संसद्को प्रतिनिधिसभाको अधिवेशन आह्वान भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीसमक्ष प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेपछि राष्ट्रपतिले २७ वैशाखको अपराह्न १ बजे आह्वान गरेकी हुन् । सर्वोच्च अदालतले एमाले र माओवादीलाई ब्युँताइदिएको दुई महिनापछि प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदैछन् । 
 

सरकारले संसद् छलेर अध्यादेशबाट देश चलाउन खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रेस वक्तव्य जारी गरी भनेका छन्, ‘संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेको अवस्थामा संसद्लाई छलेर अध्यादेशमार्फत शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायत सातवटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ ।’

यस्तै कोभिड महामारीमा सरकार गम्भीर नबनेको भन्दै कांग्रेसले ध्यानाकर्षण गराएको छ ।

सुझावित समाचार